नयाँ सरकार गठनकाे कसरत

‘प्याकेज’ मा सहमतिको प्रयास गर्दै सत्तारूढ गठबन्धन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम घोषणा सकिन लाग्दै गर्दा राजनीतिक वृत्तमा मुलुकको भावी कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी कोको हुने प्याकेजमा पद बाँडफाँटको नेगोसिएसनले तीव्रता लिन थालेको छ ।

निर्वाचन परिणामले अहिलेको सत्ता गठबन्धनलाई झिनो बहुमतको सुविधा दिने संभावना नजिक हुँदै गएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै राजकीय पदहरूको खटनपटन गर्ने मुख्य भूमिकामा पुनःस्थापित भएका छन् ।

स्वतन्त्र समाचार सेवालाई प्राप्त विश्वस्त सूत्रको जानकारी अनुसार देउवा, दाहाल र नेपालले आआफ्नो नजिकका सुत्रधारहरूलाई सबै राजकीय पदको बाँडफाँट प्याकेजमा गर्न आवश्यक तयारीका लागि गृहकार्य गर्ने जिम्मेवारी दिएका छन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वअर्थमन्त्री जनार्दन शर्मा र नेकपा समाजवादीका तर्फबाट पूर्वमन्त्री शेरबहादुर कुँवरले प्रारम्भिक गृहकार्यको जिम्मेवारी पाएको बताइन्छ तर औपचारिक रूपमा यसबारे कुनै पनि दलले केही बताएका छैनन् ।

सूत्रका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सात मुख्य मन्त्रीहरू, राष्ट्रिय सभाको उपाध्यक्ष, मुख्यमुख्य मन्त्री पद, प्रदेश प्रमुख, प्रदेशका सभामुख र उपसभामुख तथा मुख्यमुख्य मन्त्री पदहरूसमेत एउटै प्याकेजमा राखेर गठबन्धनका दलहरू र थपिन सक्ने दलहरूको बीचमा भागबण्डा गर्न सकिने सम्भावनाबारे गृहकार्य गर्न ती नेताहरूलाई भनिएको छ । प्रदेश १, मधेश र लुम्बनीमा समेत गठबन्धनकै सरकार बनाउन सक्ने उपायको खोजी पनि सोही समूहले गर्ने गरी गृहकार्य अगाडि बढेको बताइन्छ ।

आगामी सरकार जसरी पनि वर्तमान गठबन्धनकै बनाउने सुनिश्चितताका लागि गठबन्धनमा थप दलहरू थप्ने योजनाअन्तर्गत नै पहिलो प्राथमिकतामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई राखिएको र ती दलसँग संवाद सुरु भइसकेको जानकारी सो सूत्रले दिएको छ ।

नागरिक उन्मुक्तिसँग स्वतन्त्र एकसहित ४ जना संघीय सांसद र सुदूर पश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा सरकार बनाउन सहयोगी हुने संख्या रहेको र जनमत पार्टीसँग मधेश प्रदेशमा निर्णायक स्थिति रहेकाले सत्ता गठबन्धनले ती पार्टीलाई नजर लगाएको हो ।

‘संविधानको रक्षा’ मूल नारा भएको सत्ता गठबन्धनले सैद्धान्तिक रूपमा राप्रपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दा जनता समाजवादी पार्टीलाई प्राथमिकतामा राख्ने र उपेन्द्र यादवको पराजयपछि अशोक राई सो पार्टीको नेता हुनुहुने स्थितिलाई गठबन्धनले आफूअनुकूल हुने सम्झेको छ ।

प्रधानमन्त्री देउवाले उपसभापति खड्कालाई यस राजनीतिक रणनीतिको लागि अर्का नेता रामचन्द्र पौडेलसँग पनि समन्वय गर्न भनेको र पौडेललाई पनि यस प्रक्रियाको कोर टिममा उपयोग गर्ने राणनीति लिएको देखिन्छ । वर्तमान सत्ता गठबन्धनको सैद्धान्तिक सूत्रधार पौडेल नै भएकाले उनलाई न चिढ्याउन पुष्पकमल दाहालले देउवालाई सजग गराएको सूत्र बताउँछ ।

स्रोत : आईएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर