आमनिर्वाचन-२०७९

सात राजनीतिक दलले पाए राष्ट्रिय मान्यता

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराएका हुन्। जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ। न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पारे।

आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ। दलहरुले पाएको मत संख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एक तिहाइ महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानूनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर