भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लेख

जी-२० अध्यक्ष भारतको एजेन्डा ‘विश्व एकता’

जी–२० का पछिल्ला १७ अध्यक्षतामा आर्थिक स्थायित्व सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय करलाई तर्कसंगत बनाउने, विभिन्न देशको टाउकोमा रहेको ऋणको बोझ घटाउनेलगायत महत्वपूर्ण नतिजाहरु आएका छन् । हामी यी उपलब्धिहरूबाट लाभान्वित हुनेछौं, यहाँबाट अगाडि बढ्नेछौं । अब जब भारतले यो महत्त्वपूर्ण स्थान ग्रहण गरेको छ, म आफैंलाई सोध्छु– के जी–२० अझै अगाडि बढ्न सक्छ ?

के हामी मानवताको कल्याणको लागि मानसिकतामा परिवर्तनको पहल गर्न सक्छौं ? म विश्वास गर्छु हो, हामी यो गर्न सक्छौं । इतिहासभरि, मानवता के हुनु पर्छ भन्नेमा एक प्रकारको कमी थियो । हामीले सीमित स्रोतहरूको लागि लड्यौं किनभने हाम्रो अस्तित्व अरूलाई ती स्रोतबाट वञ्चित गर्नमा निर्भर थियो । विडम्बना, आज पनि हामी त्यही मानसिकतामा फसेका छौं ।

हामी यो देख्छौं जब विभिन्न देशहरू क्षेत्र वा स्रोतहरूको लागि आपसमा लड्छन् । हामी यो देख्छौं जब अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई हतियार बनाइन्छ, जब अर्बौं मानिसहरू रोगहरूको चपेटामा परे पनि खोपहरू थोरैले जम्मा गर्छन् । कोही–कोही तर्क गर्न सक्छन् कि टकराव र लोभ मानव स्वभाव हो । म यसमा असहमत छु ।

यदि मानवहरू स्वाभाविक रूपमा स्वार्थी छन् भने हामी सबैमा आधारभूत एकताको वकालत गर्ने आध्यात्मिक परम्पराहरूको स्थायी अपीललाई कसरी व्याख्या गर्ने ? आज हामीले अस्तित्वको लागि लड्नु आवश्यक छैन– यो युग युद्धको युग हुनु आवश्यक छैन । आज हामीले सामना गरिरहेका जलवायु परिवर्तन, आतंकवाद, महामारी जस्ता चुनौतीहरु मिलेर काम गरेर मात्र समाधान गर्न सकिन्छ ।

सौभाग्यवश आज हामीसँग भएको टेक्नोलोजीले हामीलाई मानवताका समस्याहरूलाई धेरै फराकिलो स्तरमा समाधान गर्ने माध्यम पनि दिन्छ । हामी आज बाँचिरहेको विशाल भर्चुअल संसारले हामीलाई डिजिटल प्रविधिहरूको व्यापकता पनि देखाउँछ । भारत यस विशाल संसारको एक सूक्ष्म जगत हो, विश्वको जनसंख्याको छैटौं भाग र भाषा, धर्म, रीतिरिवाज र विश्वासहरूको विशाल विविधताको घर ।

सामूहिक निर्णय गर्ने सबैभन्दा पुरानो ज्ञात परम्परा भएको सभ्यताको रूपमा, भारतले विश्वको लोकतन्त्रको आधारभूत डीएनएमा योगदान पुर्‍याउँछ । लोकतन्त्रको जननी भएको नाताले भारतको राष्ट्रिय सहमति कुनै आदेशले होइन, करोडौं स्वतन्त्र आवाजलाई सुमधुर आवाजमा मिसाएर बनाइएको हो । आज भारत सबैभन्दा छिटो बढिरहेको ठूलो अर्थतन्त्र हो ।

हाम्रो नागरिक–केन्द्रित शासन मोडेलले युवाहरूको रचनात्मक प्रतिभाको पालनपोषण गर्दै सीमान्तकृतहरूको ख्याल राख्छ । हामीले राष्ट्रिय विकासलाई माथिल्लो तहको शासनको अभ्यास नभई नागरिक नेतृत्वको ‘जनआन्दोलन’ बनाउने प्रयास गरेका छौं । प्रविधिको फाइदा उठाउँदै डिजिटल सार्वजनिक उपयोगिताहरू सिर्जना गरिरहेका छौं, जो खुला, समावेशी र अन्तर–सञ्चालनयोग्य छन् ।

यसले सामाजिक सुरक्षा, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानी जस्ता विविध क्षेत्रमा क्रान्तिकारी प्रगति गरेको छ । यी सबै कारणहरूका लागि, भारतको अनुभवले सम्भावित विश्वव्यापी समाधानहरूमा अन्तरदृष्टि प्रदान गर्न सक्छ । जी २० अध्यक्षताको अवधिमा, हामी भारतको अनुभव, ज्ञान र मोडेललाई अरू, विशेष गरी विकासशील देशहरूका लागि सम्भावित टेम्प्लेटको रूपमा प्रस्तुत गर्नेछौं ।

हाम्रा जी २० प्राथमिकताहरू हाम्रा जी २० साझेदारहरूसँग मात्र नभई विश्वव्यापी रुपमा जसका सुझावहरुलाई खासै सुनिँदैन, उनीहरुको पनि परामर्शमा निर्धारण गरिनेछ । हाम्रा प्राथमिकताहरू हाम्रो ‘एक पृथ्वी’ को संरक्षण, हाम्रो ‘एक परिवार’ मा सद्भाव सिर्जना गर्न र हाम्रो ’एक भविष्य’ को प्रत्याशामा केन्द्रित हुनेछ ।

हामी खाद्यान्न, मल र चिकित्सा उत्पादनहरूको विश्वव्यापी आपूर्तिलाई अराजनीतिकीकरण गर्न खोज्नेछौं, ताकि भूराजनीतिक तनाव मानवीय संकटको कारण नबनोस् । हामी शक्तिशाली राष्ट्रहरूबीच सामूहिक विनाशका हतियारहरूबाट निम्त्याउने जोखिमहरू कम गर्न र विश्वव्यापी सुरक्षा बढाउने विषयमा इमानदार संवादलाई प्रोत्साहन गर्नेछौं । भारतको जी–२० एजेन्डा समावेशी, महत्त्वाकांक्षी, कार्यउन्मुख र निर्णायक हुनेछ ।

जी–२० को लागि हाम्रो विषयवस्तु ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ हो । यो नारा मात्रै होइन । यसले मानव अवस्थाको भिन्नताहरूलाई ध्यानमा राख्छ, जुन हामीले कदर गर्न असफल भएका छौं ।

(दैनिक भास्करमा प्रकाशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलेखको अनुवाद)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *