आईएमई बन्यो नेपालको पहिलो ‘पब्लिक रेमिट्यान्स कम्पनी’, आईपीओमा लैजाने प्रस्ताव पारित

कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आईएमईको २२औं साधारण सभा सम्पन्न भएको छ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न गरेको २२औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ।

साधारण सभामा संक्षिप्त मन्तव्य दिँदै आईएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहका बाबजुद एउटा सानो स्केलमा आईएमई स्थापना भएको स्मरण गरे। अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आईएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।

अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

यो प्रक्रियाका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढ्नेछ।

रेमिट्यान्स समाधान प्रदायकहरूमध्येको अग्रणी आईएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आईएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आईएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।

आईएमईको इतिहास
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजतप्राप्त आईएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो। सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आईएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ। अन्तर्राष्ट्रियस्तरको रेमिट्यान्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आईएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुःखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्‍याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो। औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो। त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आईएमई आज २२ वर्षमा प्रवेश गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर