चोरी सिकारीका कारण लोपोन्मुख रेडपाण्डा जोगाउन समस्या

विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डा चोरी शिकारीका कारण जोगाउन समस्या भएको हो ।

धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जङ्गलमा आकर्षक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रङमा भेटिने रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेर रेडपाण्डा सिकार गर्ने गरेका छन् ।

यो जङ्गली जनावरको पहिचान र प्रचारप्रसारको अभावमा सिकारको क्रम बढेको हो । पाँच वर्षअघि २०७४ सालमा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा जिल्लाकै अति विकट मानिने लुलाङ, गुर्जाको मरेनी र जलजला सामुदायिक वन तथा आसपासका क्षेत्रमा भेटिने रेडपाण्डाका बारेमा स्थानीयवासीले जानकारी गराएपछि संरक्षण अभियान थालिए पनि विगत दुई वर्षयता सरंक्षण अभियानले निरन्तरता पाउन नसक्दा पहिले जस्तै चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले जानकारी दिए ।

विसं २०७४ मा रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई रेडपाण्डाको जानकारीसहित बस्ने वासस्थानसमेत देखाइ दिएपछि यसबारे जानकारी लिएका उनीहरु संरक्षणमा लागे पनि त्यो अभियानले निरन्तरता पाएजस्तो नदेखिएको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताए ।

विसं २०७४ मा नेटर्वकले जङ्गलमा रेडपाण्डाको बासस्थान फेला पारेपछि लुलाङ, गुर्जावासी र विद्यालयमा अध्ययनरत विद्यार्थीलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध गाउँवासीलाई लोपोन्मुख रेडपाण्डाका बारेमा जानकारी गराइएको थियो ।

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएको ती स्थानमा रतुवा, घोरल, मृग, बँदेलसहित जङ्गली जनावर पाइने जङ्गलमा लुकिछिपी वनयजन्तु तस्करका क्रममा लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डालाई समेत निसाना बनाउन सक्ने भन्दै रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाइसमेत गरेको थियो ।

पश्चिम म्याग्दीका जङ्गलमा प्रारम्भिक अनुसन्धानमा पाँच वटा रेडपाण्डा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा २० को हाराहारीमा रहेको अनुमान गरिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा १० देखि २५ डिग्री सेल्सियस तापक्रममा बसोबास गर्ने हाब्रेलाई सरकारले सालकपछिको दोस्रो सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हाब्रेलाई संरक्षितको सूचीमा राखिएको हो ।

निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्ने धौलागिरि गाउँपालिकाका प्रमुख प्रेम पुनले बताउनुभयो । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ र बागलुङ जिल्लामा पनि रेडपाण्डाको बसोबास रहेको भेटिएको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए । उनका अनुसार रेडपाण्डाको बसोबास रहेको पुष्टि भएपछि यसको संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको सरोकारवालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर