महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबैले सहकार्य गर्नुपर्ने बताएका छन्।

आज महिला हिंसासम्बन्धी एक कार्यक्रममा बोल्दै उनले भने, ‘चेतनास्तर शहर, गाउँ र समुदायपिच्छे फरक छ। महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो।’

सीमित स्रोत साधनका बाबजुद ओसीएमसीले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उनले बताए। यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसीएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन्। गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसीएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो।

कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको सङ्ख्या बढी छ। ‘गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै हुनुहुन्छ। नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ। त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्,’ उनले भनिन्।

ओसीएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै छ सय ५१ वटा सामाजिक हिंसाका पीडित छन्। त्यसबाहेक बालविवाहसम्बन्धी तीन सय १८, बहुविवाहसम्बन्धी एक सय ३९, बालश्रमसम्बन्धी एक सय ८१ घटना छन्। साथै दाइजोसम्बन्धी एक सय २२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका एक सय ६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छ। यसबाहेक अन्य कारणले एक हजार ८० हिंसा भएको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *