सुकुम्वासीहरूको चेतावनी- ‘वैकल्पिक व्यवस्थाबिना गरिएको उठीवास सह्य हुँदैन’

वाग्मती नदी किनारका सुकुम्वासीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार सयौंको संख्यामा उपस्थित सुकुम्वासीहरुले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर बिरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठीवास सह्य नहुने चेतावनीसमेत दिए ।

र्‍यालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठीवास सह्य नहुने चेतावनी दिए । उनले वैकल्पिक बसोवासबिनाको उठीवास नागरिक अधिकारमाथिको हनन भएको बताए ।

उनले सुकसम्वासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्वासी भएको बताए । उनले जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे । उनले सरकारले सुकुम्वासीहरुको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे ।

सुकुम्वासीहरुले र्‍यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर, वार्ता र संवादको ढोका खुला गर, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता गर, उठीवासको त्रास बन्द गर, नागरिकको अधिकार सुनिश्चित गरलगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । गत मंसिर १२ गते अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको उनीहरुको आरोप छ । उनीहरुले भत्काउने र बिगार्ने नभई दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *