अशान्ति र अराजकता फैलाउने व्यक्ति वा समूहविरुद्ध खरो रूपमा प्रस्तुत हुनू : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल र आपराधिक प्रकृतिका व्यक्ति वा समूहविरुद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगा परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गर्दै महानिरीक्षक सिंहले त्यस्ता व्यक्ति वा समूहविरुद्ध खरो रूपमा प्रस्तुत भई प्रहरी कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्।

महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, ब्यारेक तथा भान्साघरको उद्घाटन गरेका हुन्। भवन उद्घाटन र निरीक्षणसँगै महानिरीक्षक सिंहले भवन निर्माणमा सहयोग पु¥याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी बस्ने आवास गृह, प्रहरी प्रशासनलगायत प्रहरी कार्य सम्पादन गर्न आवश्यक पर्ने भौतिक संरचना र प्रहरीले उपभोग गर्ने सेवा सुविधाहरूको उपलब्धता प्रत्यक्ष रुपमा प्रहरीको मनोवलसँग जोडिएको उल्लेख गर्दै नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिने विश्वास व्यक्त गरे।

प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गरे। उनले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताए।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकाय तथा पदाधिकारीहरूसँगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन–२०७९ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त सुरक्षा निकायका कर्मचारीहरू, निर्वाचन कर्मचारीहरू र सम्बन्धित निकायका पदाधिकारीप्रति विशेष धन्यवाद व्यक्त गरे।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

१ नम्बर प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक इन्जिनियर अनिल रानाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड १० लाख ४४ हजार ९१ रुपैयाँ ८१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक शुकदेव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर