वरिष्ठ गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति सम्मान

स्वरसम्राट नारायण गोपालको ३२औं स्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ ।

स्वरसम्राट नारायण गोपालको ३२औं स्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए । उनले नारायणगोपालको शालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सिमित नभइ समग्र गीत÷संगीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रुपमा चित्रण गरे ।

उनले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताए ।

उनले भने, ‘नारायणगोपाल वहाँ एक्लो हो जस्तो लाग्दैन समग्र गीत, संगीत नै उहाँमा समाहित छौँ । उहाँ धेरै उपाधि हुनु हुँदैन भन्नुहुन्थ्यो। तर उहाँकै धेरै उपाधि भइरहेको छ, यो रोचक छ । ३० को दशमा नारायणगोपाल दाईले राजेन्द्र थापाको फ्यान हुँ भन्नु भन्दा ठूलो सम्मान अरु केही पनि होइन ।आगामी दिनमा नारायण गोपालको बारेमा विस्तृत अध्ययन हुन जरुरी छ ।’

कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे । उउनले आफूले देखेका अहिलेसम्मका गायक गायिकाहरुमा त्यो किसिमको कला नपाएको बताए ।

उनले भने, ‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो । मैले अहिलेसम्म त्यस्तो गायक, गायिका भेटेको छैन । मैले पनि उहाँसँग धेरै काम गरेँ । उहाँसँग काम गर्न पनि धेरै रमाईलो हुन्थ्यो ।’

स्वरसम्राट नारायणगोपालको ३२औं पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर