सशस्त्र प्रहरीः काम बिगार्ने हल्चोक, बदनाम गर्ने बालुवाटार

सशस्त्र प्रहरी बलमा नेतृत्वलाई प्रभावित पार्दै केही व्यक्ति हावी हुँदा संगठन नै विवादमा पर्ने गरी काम हुन थालेका छन् । पहिले विभिन्न आरोपमा सशस्त्रका अधिकारीलाई छानबिनको दायरामा ल्याउने र पछि बालुवाटार लगायत शक्तिकेन्द्रले दबाब दिएको भन्दै कारबाही नगरी सशस्त्र प्रहरी मुख्यालय पन्छिने प्रवृत्ति देखिएको हो । संगठनको यस्तो प्रवृत्तिले राम्रा अधिकारीको समेत करियर मै गंभिर असर पुगेको छ ।

अझ,  महानिरीक्षक राजु अर्यालले बोली र व्यवहारमा एकरुपता ल्याउनुभन्दा अवकाशप्राप्त महानिरीक्षक कोषराज वन्तकै बदनाम टिमलाई बोकेर संगठनभित्र नैतिकताको पाठ पढाउन थालेपछि हल्चोकमा उनलाई राम्रा ठान्ने अधिकृतहरु नै अचम्ममा पर्न थालेका छन् ।

महानिरीक्षक अर्यालले ठेक्कापट्टामा विशेष चासो राख्ने, आफु अघि नदिखिने तर भित्रभित्र कमिशनमा चासो राख्न थालेको बलभित्रका वरिष्ठ अधिकारीहरुले खुलेरै कुरा गर्न थालेका छन् ।

हालै मात्र तराई मधेसमा दरबन्दी भएका सशस्त्र प्रहरीका केही अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाउँदै मुख्यालय तानिएको थियो । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाका अनुसार भने उनीहरुको कार्यशैलीलगायत विषयमा बुझ्न मुख्यालय बोलाइएको र यस्तो आन्तरिक छानबिन नियमित चलिरहने प्रक्रिया हो ।

तर, सञ्चारमाध्यममा भने ती अधिकारीले ठूलै आर्थिक अपराध गरेको, तस्करीमा सघाउ पुर्याएको र उठौतीपुठौतीमा संलग्न रहेको जस्ता विवरणसहित समाचार प्रकाशित भए । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई अनुगमनमा पठाएको र ती टोलीले दिएको प्रतिवेदनअनुसार उनीहरुलाई मुख्यालय तानिएको थियो ।

प्रवक्ता एसएसपी थापाले पनि टोलीको प्रतिवेदनअनुसार उनीहरुसँग केही विषयमा बुझ्न मुख्यालय तानिएको पुष्टि गरे । तर, यतिबेला प्रतिवेदनमा उल्लेख गरेजस्तो कसुर नदेखिएपछि ती अधिकारीहरु फेरि कार्यक्षेत्रमै फर्कने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ । उनीहरुमाथि आरोप पुष्टि गर्न नसकेको मुख्यालय अहिले शक्तिकेन्द्रको दबाबमा परेको जस्ता बहानाबाजी बाहिरिएका छन् ।

सशस्त्र प्रहरी मुख्यालयले बारा, पर्सा र नवलपरासीका तीन जना उपरीक्षक (एसपी) लगायतलाई शुक्रबार मुख्यालयमा तानेको थियो । यसरी तानिनेमा १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलगायत ७ जना छन् ।

सशस्त्रका बाहिनी र गणलाई समेत जानकारी नदिई मुख्यालयबाट टोली खटिएर अनुगमन गरेको हुनाले र प्रतिवेदन नै तयारी पारी छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको हुनाले पनि ती अधिकारी कारबाहीमा पर्ने सम्भावना उच्च हुनुपर्ने हो । तर, ती अधिकारीहरुले अहिले कारबाही गर्नुपर्ने कुनै काम नगरेको प्रमाणित हुनुले र मुख्यालयले कारबाही गर्न सक्ने आधार पुष्टि गर्न नसक्नुले कारबाहीको हल्ला नियोजित रुपमा गरिएको हो कि भन्ने आकलन छ ।

मुख्यालयले आरोप मात्र लगाउने तर पुष्टि गर्न नसक्दा यसले उच्च अधिकारीहरुको करियर नै बदनाम हुन थालेको र यसमा कसैको स्वार्थ मिसिएको हुनसक्ने आशंका गर्न थालिएको हो । प्रवक्ता एसएसपी थापाले भनेजस्तै यो संगठनको नियमित आन्तरिक प्रक्रिया भएको भए सञ्चारमाध्यममा करियर नै बदनाम हुने गरी प्रचार किन गरियो भन्ने प्रश्न सशस्त्रकै उच्च अधिकारीले गरेका छन् ।

मुख्यालय तानिने मध्येका एक अधिकारीले आफूहरुको गल्ती नभएर पनि सञ्चारमाध्यममा ठूलो रुपमा प्रस्तुत गरिएको र बदनाम गराउन खोजिएको पर्दाफासलाई बताए । उनले आफूहरु अब १–२ दिनमै कार्यक्षेत्रमा फर्किन लागेको पनि जानकारी दिए । ‘सञ्चारमाध्यममा आएजस्तो गरी त्यस्तो ठूला कुरा केही भएको होइन, हामी तराईको खुला सीमा क्षेत्रमा खटिएकाले त्यहाँका केही घटनाहरुमा सोधपुछ गर्न खोजिएको थियो । तर, सञ्चारमाध्यममा आएजस्तो ठूलो अपराध गरेका छैनौं,’ उनले भने ।
प्रवक्ता एसएसपी थापाले पनि सञ्चारमाध्यममा आएको जस्तो विषय नभएको पर्दाफासलाई बताए । ‘यद्यपि, यो विषय छानबिनको क्रममा छ, अहिले नै निष्कर्ष दिन मिल्दैन,’ उनले भने । उनले सञ्चारमाध्यममा आएका विषयमा संगठनको आधिकारिक धारणा नसमेटिएको जिकिर पनि गरे ।

यसरी आन्तरिक कारबाहीका विषयमा महानिरीक्षक अर्यालकै अनुमतिले बलको समाचार शाखामा कार्यरत पूर्व पत्रकार समेत रहेका डीएसपी शैलेन्द्र थापा विशेष सक्रिय रहने गरेका छन् । उनले आफ्ना पुराना साथीहरु मार्फत समाचार सम्प्रेषण गर्ने र अप्ठयारो परेमा प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका सदस्यहरुलाई दोषी देखाएर आफै विशेष स्रोत बन्ने गरेको उनकै शाखाका एक कनिष्ठ अधिकारीले पर्दाफासलाई बताए ।

यो घटनामा पहिलो त विषय सामान्य भएको भए आन्तरिक रुपमा नै समाधान खोजिनुपर्ने, यदि कसुर नै गरेको भए शक्तिकेन्द्रले दबाब दिएको भन्दै कारबाही गर्न संगठनको नेतृत्वले खुट्टा कमाउन नहुने सशस्त्रका अधिकारी बताउँछन् । नत्र विनाकसुर मिडियाबाजी हुँदा कुनै अधिकारीको करियर नै बदनाम गराउन खोजिएको सन्देश जाने उनीहरुको भनाइ छ ।

‘गल्ती गरेको भए कारबाही गर्नुपर्याे, कहिले बालुवाटार, कहिले गृह मन्त्रालय देखाएर संगठनले उन्मुक्ति दिन मिल्दैन । नत्र कसैलाई कारबाहीको हल्ला फैलाएर बदनाम गराउने प्रवृत्ति बन्द गर्नुपर्छ,’ सशस्त्रकै एक उच्च अधिकारीले पर्दाफासलाई भने । प्रवक्ता एसएसपी थापाले संगठनमा शक्तिकेन्द्रको कुनै दबाब नरहेको र कसुर देखिए कारबाही गरिने दाबी गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर