केल्मी सञ्चालक पुष्पा न्यौपानेकाे जलेर मृत्यु, विवाह ताेडेर नियोजित हत्या गरेको परिवारको आरोप

नेपालका लागि प्रख्यात केल्मी ब्रान्डका सञ्चालकमध्ये एक पुष्पा न्यौपानेको शंकास्पद मृत्यु भएको छ । उनको साेमबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल बर्न सेन्टरमा मृत्यु भएको हो । किंग्स कलेजकी एक मेधावी छात्रा तथा सामाजिक अभियन्ता न्यौपानेको शंकास्पद मृत्यु भएपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएको छ ।

पुष्पाका आफन्त उत्तम न्यौपानेले वृत्त महाराजगञ्जमा दिएको जाहेरीमा नियत र मनसायपूर्वक डर, धाकधम्की र मानसिक यातना दिई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पीडक पक्षउपर कानूनी कारबाहीको माग गरिएको छ । जाहेरीमा पीडक पक्षमा धुम्बाराही बस्ने दिनेश संग्रौला तथा बिन्दु संग्रौलाका छोरा वर्ष २९ का मधु संग्रौला, वर्ष २९ का सुधन संग्रौला, वर्ष ५७ का दिनेश संग्रौला र वर्ष ५७ की बिन्दु संग्रौला रहेका छन् ।

पर्दाफासलाई प्राप्त जाहेरी दरखास्तमा पुष्पाको विवाहको छिनोफानो भइसकेपछि पीडक संग्रौला परिवारले एकाएक विवाह नगर्ने भन्दै जानकारी गराएको तथा उनलाई मानसिक यातना दिएको उल्लेख छ । यस्तै उनले संग्रौला परिवारको घरगेटमा आफूलाई पेट्रोल छर्केर आगो लगाउन लाग्दा समेत बचाउन कोसिस नगरेको आरोप लगाइएको छ ।

घटना विवरणअनुसार पुष्पा र मधुबीच उनले सञ्चालन गरेको केल्मी ब्रान्डको दरबारमार्गस्थित शोरुममा २०७८ माघमा चिनजान भएको थियो । उनीहरुले यो भेटपछि फोन नम्बर साटासाट गरे । सामाजिक सञ्जालमा जोडिए । त्यसपछि उनीहरु एक अर्कासँग निकट भए र यो निकटता प्रेममा बदलियो ।

उनीहरु एकअर्काको घरमा जानेआउने गर्न थाले । दुवैले आआफ्ना अभिभावकलाई ‘हामी विवाह गर्छौं’ भनेको र दुवै पक्षको चित बुझेपछि राजीखुशी मन्जुरीले १८ भदौ २०७९ मा पुष्पाको बुद्धनगर बानेश्वरस्थित घरमा जनै सुपारी, टीकाटालो (इन्गेजमेन्ट) भई १ वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको थियो ।

तर, संग्रौला परिवारले शनिबार पुष्पाको बुद्धनगर घरमा गएर ‘विवाह गर्न सक्दैनौं, क्यान्सिल गरौं’ भन्दै जनै सुपारी, इन्गेजमेन्ट कार्यक्रममा दिएलिएको दक्षिणा एवम् गरगहना समेत फिर्ता गरे । घटना हुनुअगाडिसम्म पुष्पालाई मानसिक यातना दिँदै आएको र उनले समेत ‘म मर्नुभन्दा अर्को विकल्प रहेन’ भनी पीडकहरुलाई जानकारी गराएको जाहेरीमा उल्लेख छ ।

जाहेरीकर्ता उत्तमका अनुसार शनिबार राति पीडकका बुबाले पुष्पालाई फोन गरेका थिए । त्यसपछि आइतबार पीडकहरुले उनलाई घरमा बोलाई थप मानसिक यातना दिएपछि पुष्पाले उनीहरुकै अगाडि घरको गेटमा पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दा समेत बचाउन कुनै प्रयास गरेनन् ।

‘विवाह नगर्ने भनेपछि शनिबार हामीले छोरीलाई सम्झाइबुझाइ गरेका थियौं, छोरीले आखिर आफ्नो के गल्ती भयो भन्ने जिज्ञासा राखेकी थिइन्,’ न्यौपानेले पर्दाफाससँग भने, ‘उनीहरुकै गेट अगाडि घटना हुँदा समेत बचाउन प्रयास नगर्ने, परिवारलाई फोन गर्ने तर प्रहरीलाई फोन नगर्ने र अहिले क्लोज सर्किट क्यामरा लुकाउनुले यो नियोजित हत्या हो भन्ने हामीलाई लागेको छ । यसको निष्पक्ष अनुसन्धान होस् भनेर जाहेरी दिएका छौं ।’

उनले संग्रौला परिवारले प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर घटना सामसुम पार्न थालेको आरोप समेत लगाए । उनले चिनजान भएकी र बुहारी बनाउने भनेर भित्राएकी पुष्पालाई घटनापछि चिन्दिनँ भन्नु, सीसीटीभी लुकाउनु जस्ता गतिविधिले घटना झनै शंकास्पद रहेको दाबी गरे ।

महाराजगञ्ज वृत्तका प्रमुख डीएसपी अंगुर जिसीले जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको पर्दाफासलाई बताए । उनले परिवारका चारैजनालाई पक्राउ गरेर सोमबार म्याद थपका लागि पठाइएकोमा अदालतले सुदन बिरुद्ध पाँच दिन अनुसन्धान म्याद दिएको बताए । अन्यलाई जिम्मा लगाएको रिहा गरिएको डीएसपी जिसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर