रातारात बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रातारात बुटवलबाट दाङको देउखुरीमा सारिएको छ ।

सोमबार राति मुख्यमन्त्री कार्यालय र मुख्यसचिव कार्यालयका सामानहरू तीनवटा ट्रकमा लोड गरेर स्थायी राजधानी देउखुरीको कार्यालयमा लगिएको हो ।

अब बुटवलको मुख्यमन्त्री कार्यालय बन्द रहने र देउखुरीबाटै सबै काम हुने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

बुटवलबाट ट्रकले बोकेर लगेका फर्निचरलगायतका सामान देउखुरीमा व्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए ।

लुम्बिनी प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन । अहिले भने राप्ती प्राविधिक शिक्षालय रहेका भवनहरूमा मन्त्रालयहरू स्थानान्तरणको काम भइरहेको छ ।

करिब १८ बिघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालय परिसरमा ४० बढी साना/ठूला भवनहरू छन् । लुम्बिनी प्रदेश राजधानीको मुख्य प्रशासनिक केन्द्र यहीँ रहने छ । राप्ती प्राविधिक शिक्षालयलाई भने गढवा गाउँपालिकाको गोबरडिहास्थित सरस्वती उच्च माविमा स्थानान्तरण गरिसकिएको छ ।

अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथ स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ।

मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ ।

अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि सपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ।अब आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालय एक साताभित्रै बुटवलबाट देउखुरी लगिने छ । पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भने यसअघि नै स्थानान्तरण भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर