यूएन मिशनमा जाने शान्ति सैनिकलाई ‘अफिसियल’ नीलो पासपाेर्ट

सरकारले संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त क्षेत्रमा खटिने नेपाली सेनाका शान्ति सैनिकहरुलाई सरकारी प्रयोजनमा प्रयोग हुने ‘अफिसियल’ नीलो रंगको राहदानी उपलब्ध गराउने निर्णय गरेको छ ।

शान्ति सेनाअन्तर्गत हाललाई सिरियामा खटिने नेपाली शान्ति सेनाले नीलो राहदानी पाउने भएका छन् । यसअघि परराष्ट्र मन्त्रालयको राहदानी विभागले अधिकृतस्तरबाहेक तल्लो दर्जाका कसैलाई पनि नीलो (अफिसियल) पासपोर्ट उपलब्ध गराएको छैन ।

आम सर्वसाधारण नेपाली नागरिकले व्यक्तिगत कामको सिलसिलामा विदेश जाँदा व्यक्तिगत प्रयोजनका लागि हरियो (पोहोरदेखि ई–पासपोर्ट खैरो) बनाउने तर सोही व्यक्ति सरकारी कामका लागि जाँदा हैसियतअनुसार नीलो या रातो राहदानी बोक्ने अधिकार राख्दथे ।

शान्ति सेना पनि सरकारी कामकै लागि जानुपर्ने भएकाले उनीहरूलाई नीलो पासपोर्ट उपलब्ध गराउन रक्षा र परराष्ट्र मन्त्रालयबाट टिप्पणी नै उठाएर नीतिगत निर्णय भएको हो । यो निर्णय तत्काल कार्यान्वयनमा गएको छ ।

सिरियामा खटाइने सबैजसोले तालिमलगायत विभिन्न किसिमका प्रशिक्षणका निम्ति कहिलेकाहीँ इजरायल जानुपर्ने भएको तर सिरियाको भिसा र छाप लागेका कारण समस्या उत्पन्न भएपछि यस्तो निर्णय गरिएको हो ।

यही कारण सकल दर्जाका सैनिकहरू उच्चस्तरको तालिम लिनबाट वञ्चित हुँदै आएका थिए । यही समस्यालाई समाधान गर्न पनि शान्ति मिशनमा तैनाथ नेपालीले व्यक्तिगत र नीलो पासपोर्ट बोक्न पाउने व्यवस्था गरिएको हो ।

यो निर्णयसँगै सिरियामा खटिने सकल दर्जाका सैनिकले व्यक्तिगत र नीलो गरी दुइटा पासपोर्ट बोक्नसक्ने बाटो खुलेको छ । सिरियाबाट फर्किआएपछि भने नीलो पासपोर्ट तालुक कार्यालयलाई नै बुझाउनुपर्ने र पुनः सरकारी कामको सिलसिलामा विदेश जाँदा अवधि बाँकी भए प्रयोग गर्न पाउने व्यवस्था गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

नीलो राहदानीवाहकलाई चीन, थाइल्याण्डलगायत कतिपय देशमा भिसा लाग्दैन भने भिसा लाग्ने ठाउँले शुल्क लिने चलन छैन ।

राहदानी नियमावलीको दफा ६ मा शान्ति स्थापनार्थ खटी जाने सेना र प्रहरीलगायत सबै कर्मचारीलाई नीलो पासपोर्ट दिने व्यवस्था छ । सोही दफालाई चलायमान गराउँदै यस्तो निर्णय भएको हो । यसअघि अधिकृत स्तरदेखि सहसचिवस्तरका निजामती कर्मचारीले मात्रै नीलो राहदानीको सेवा उपभोग गर्दै आएका थिए ।

नेपालबाट विश्वका १२ द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना गर्न शान्ति सेना खटिएका छन् । करिब ५ हजार ५ सय ६३ को संख्यामा नेपाली शान्ति सैनिक विदेशमा छन् भने संयुक्त राष्ट्रसंघमार्फत् यसरी सैनिक खटाउने मुलुकमा अहिले नेपाल तेस्रो नम्बरमा छ ।

यही महिना ४५० जनाको टोली मिशनमा गएपछि भने नेपाल दोस्रोमा उक्लनेछ । यसबीच लेबनानस्थित संयुक्त राष्ट्रसंघीय फोर्स युनिफिलको डेपुटी फोर्स कमाण्डरमा जर्नेल चोक ढकाल जाने भएका छन् । यसअघि शिवराम खरेलले सो कार्यभार सफलतापूर्वक निभाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर