इन्डोनेसियामा विवाहपूर्व यौनसम्पर्कलाई अपराध मान्ने कानून पारित

विवादका बीच इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व यौनसम्पर्क र विवाहेतर सम्बन्धलाई अपराध मान्ने नयाँ फौजदारी कानून पारित गरेको छ । दोषी प्रमाणित भए जेल सजाय हुनेछ ।

तर, इन्डोनेसियाका कानूनमन्त्रीले नयाँ फौजदारी संहिता तीन वर्षपछि लागू हुने बताएका छन् । नयाँ कानुनले अधिकांश सांसदको समर्थन पाएको छ । संसदको विशेष बैठकमा सदनका उपसभामुखले नयाँ ऐनलाई औंल्याउदै यो अब ‘कानूनी’ भएको बताए ।

समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाका सामाजिक कार्यकर्ताहरूले नयाँ कानूनको विरोध गरिरहेका छन् । यसले मुस्लिम बाहुल्य देशमा नागरिकको स्वतन्त्रता खोस्न सक्ने मानिसहरूको भनाइ छ ।

इन्डोनेसियाका कानून तथा मानवअधिकार मन्त्री यासोना लियोलीले भनिन्, ‘हामीले सबै महत्वपूर्ण मुद्दा र फरक विचारलाई मिलाउन सक्दो प्रयास गरेका छौं । तर, अब दण्ड संहितामा भएको संशोधनलाई स्वीकार गर्ने बेला आएको छ र औपनिवेशिक युगका कानूनहरुलाई पछाडि छोड्नुपर्नेछ ।’

इन्डोनेसियाको नयाँ दण्डसंहिताको सबैभन्दा विवादास्पद परिच्छेदले विवाहपूर्व यौनसम्बन्ध र विवाहेतर सम्बन्धलाई अपराधीकरण गरेको छ । नयाँ आपराधिक कानूनका आलोचकहरू यी नियमहरूले इन्डोनेसियामा बस्ने एलजीबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्ने जनाउँछन्, जहाँ समलिंगी विवाह अझै कानुनी छैन ।

कानून मन्त्रालयका प्रवक्ता अल्बर्ट एरिसले परिवर्तनको पक्षमा रहेको भन्दै यसले विवाह जस्ता संस्थाहरूलाई जोगाउने बताए । उनले विवाहपूर्व र विवाहेतर यौनसम्पर्कमा पति वा पत्नी, आमाबुबा वा छोराछोरीले गुनासो गर्न सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर