काठमाडौंबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षणपत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब रुपैयाँभन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख स्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताए।

नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताए। उनले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्न नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्बभन्दा बढी राज्यको लगानी भइसकेको छ। काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख स्रोत हो। यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ। काठमाडौं आइसक्यो, नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैन। मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ। ७ महिना पानी फ्लो हुन्छ भन्ने छ। ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ। त्यसले यहाँको माग पूरा हुन सक्दैन। त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ। महानगरपालिकाभित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले। महानगरबाहिर पनि यसको उपलब्धता हुनुपर्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर