काठमाडाैंवासीले बाह्रै महिना मेलम्चीकाे पानी पिउन पाउनेछन् : खानेपानीमन्त्री चाैधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाएका हुन्।

उनले मेलम्चीको पानीको दीर्घकालीन रूपमा स्थायी समस्या समाधानका लागि एडीभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए। मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडीभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे।

उनले काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा यस वर्ष वर्षातको बेलामा वाग्मतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताए। उनले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको बताए।

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताए। उनले अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *