ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ

आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरु गरेको हो ।

फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने छ ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिने छ । सुरुमा ब्यारेकेडहरू राखेर काम सुरु गरिने छ ।

काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रवाहक, माहलवाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्र्याकबाट चलाइने छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर