मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी अन्य प्रक्रिया पूरा भइसकेको छ ।

साथै साधारणसभाले बैकको अधिकृत पु‘जी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

यसका साथसाथै अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर