विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

मोरक्को र क्रोएसिया शनिबार कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि भिड्दै छन् । विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ खेल्नुपरेको हो । विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको थियो । अर्कोतिर, सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भयो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने योजना भताभुंग भयो । खलिफा अन्तर्राष्ट्रिय मैदानमा मोरक्को र क्रोएसिया तेस्रो स्थान हात पार्दै विश्वकप समाप्त गर्न चाहन्छन् ।

सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगेपनि तेस्रो स्थान हासिल गर्न चाहन्छ । सन् १९९८ मा पहिलोपटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसवेला क्रोएसिया नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको थियो ।

उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्न सफल भएको छ । सेमिफाइनलबाहेक अन्य कुनै पनि खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले गोल गर्न सकेका थिएनन् । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले तोडे । हर्नान्डेज र मुआनीको गोलसँगै वालिद रेग्रगुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलोपटक विश्वकप फाइनल खेल्ने सपनाबाट वञ्चित भयो ।

मोरक्कोले प्रतियोगितामा पाँच ‘क्लिन सिट’ राखेको छ । अर्जेन्टिनाविरुद्ध खेल्दा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक घाइते भएका थिए । उनी खेल्ने वा नखेल्नेमा द्विविधा छ । यसैगरी, रक्षक जोस्को भार्डिओस, बोर्ना सोसालगायत खेलाडीसमेत घाइते छन् । कप्तान मोड्रिकसहित माथेओ कोभासिच र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट प्रदर्शनले क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकलाई केही सहज हुनेछ ।

मोरक्कोका कप्तान रोमाइन साइस र बायर्न म्युनिखका नोउसाइर सेमिफाइनलमा घाइते भएका थिए । तेस्रो स्थानको खेलमा उनी खेल्ने वा नखेल्ने निश्चित छैन । केही घाइते खेलाडीका बाबजुद प्रशिक्षक वालिद अन्य खेलाडीका भरमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् । दुईबीचको पहिलो भेट सन् १९९६ मा भएको थियो ।

निर्धारित समय २–२ को बराबरी सकिँदा खेल पेनाल्टी सुटआउटमा क्रोएसियाले जितेको हो । जुन खेलमा तीन रातो कार्ड देखाइएको थियो । यसै विश्वकपको समूह चरणमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर