हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौं : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरूले उठाएको किसानका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरू सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए ।

राउतले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताए । उनले भने, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरू छन् ती सम्बोधन हुनुपर्छ । त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रूपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन । त्यसमा काम गर्ने वातावरण, ती क्षेत्रहरूमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जाहेर हुनुपर्‍याे ।’

उनले ठोस रूपमा र इमानदारितापूर्वक प्रतिबद्धता जाहेर हुनुपर्ने बताए । अध्यक्ष राउतले वर्तमान सत्तारूढ गठबन्धनप्रति आफूहरू सकारात्मक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *