आमनिर्वाचन-२०७९

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराएका हुन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोशाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद् सचिवालयका अनुसार २६ जना सांसदले नेपाली बाहेकका १४ मातृभाषामा शपथ लिएका छन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ७५ सांसद छन् ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर