प्रधानमन्त्रीको शपथ नखाँदै प्रचण्डलाई भारत, चीन, पाकिस्तान र अमेरिकाको बधाई

नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मुलुकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीको शपथ लिन बाँकी छँदै प्रचण्डलाई भारत, चीन, पाकिस्तान र अमेरिकाले बधाई तथा शुभकामना दिएका हुन्। भारतका पाकिस्तानका प्रधानमन्त्रीले तथा चीन र अमेरिकाका राजदूतहरूले  बधाई दिएका हुन्। प्रचण्डले साेमबार अपराह्न ४ बजे प्रधानमन्त्रीकाे शपथ लिँदैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका छन्।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।

 

भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘कमरेड प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

भारतका तर्फबाट प्रधानमन्त्री मोदीका साथै काठमाडौंस्थित भारतीय राजदूतावासले पनि बधाई तथा शुभकामना व्यक्त गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन्।

यस्तै काठमाडौंस्थित चिनियाँ राजदूतावास र अमेरिकी राजदूतावासले पनि प्रचण्डलाई बधाई र शुभकामना दिएका छन्। चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

प्रचण्डलाई बधाई दिएका राजदूतहरूले प्रचण्डको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका छन्।

चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनेका छन्।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन्।

अमेरिकी राजदूत थम्प्सनले प्रचण्डको कार्यकालमा नेपाल र अमेरिकाबीचको ७५ वर्षीय साझेदारीलाई अझ बलियो बनाउन र लोकतन्त्र, मानव अधिकार, र आर्थिक वृद्धिलाई समर्थन गर्न सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।

 

यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा बधाई दिँदै प्रधानमन्त्री शरीफले लेखेका छन्, ‘सम्माननीय पुष्पकमल दाहाल प्रचण्ड ज्यूलाई नेपालको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक शुभकामना । क्षेत्रीय साझेदारको हैसियतमा पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध छ। म उहाँसँग हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई अझ सुदृढ पार्न काम गर्न तत्पर छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर