प्रचण्डको महत्त्वाकांक्षा र देउवा बन्धकमा पर्दा फेरियो ‘राजनीतिक कोर्स’

नेपाली राजनीतिक कोर्स आइतबारदेखि ३६० डिग्रीमा घुम्दै कसैले नसोचेको बिन्दुमा आएर रोकिएको छ । हिजोसम्म सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले कांग्रेसको साथ छोड्दै एमालेसँग गठबन्धन गरेपछि सत्ता समीकरण परिवर्तन भएको हो ।

गत प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट जित्दै पहिलो पार्टी बनेको कांग्रेस प्रतिपक्षमा पुगेको मात्र छैन, उसले प्रधानमन्त्री, राष्ट्रपतिदेखि प्रदेश सरकारसम्मका सबै महत्वपूर्ण पदहरु गुमाएको छ । अर्कोतर्फ ३२ सिट जितेर तेस्रो पार्टी भएको माओवादी केन्द्रले प्रधानमन्त्री पद पाएको छ भने दोस्रो पार्टी एमालेले राष्ट्रपतिदेखि मुख्य पद र सत्ताको चाबी पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

विगत २ वर्षदेखि सहकार्य गर्दै आएका कांग्रेस–माओवादी गठबन्धन टुट्नुको कारण के हो त ? यसको कारण हो, प्रधानमन्त्री बन्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पलाएको महत्वाकांक्षा ।
जसरी पनि प्रधानमन्त्री बनिछाड्ने प्रचण्डको हठ र राष्ट्रपति तथा प्रधानमन्त्री पद पहिलो पार्टीको हैसियतमा आफैसँग राख्ने कांग्रेसको अडानका कारण राजनीतिक कोर्स बदलिएको हो । नेपालको राजनीतिमा कुनै पनि दलबीच अचानक गठबन्धन हुनु नौलो कुरा होइन । विगतमा पनि रातारात विभिन्न दलहरु मिलेका उदाहरण छन् ।

मुख्य कुरा त अहिले एमाले र माओवादीलगायत दलबीच भएको यो गठबन्धन कति स्वाभाविक हो भन्ने प्रश्न हो । राजनीतिक यात्रामा विभिन्न समय र परिस्थिति आउन सक्छ, जुन बेला देश र जनताका लागि दलहरुले सहकार्य गर्नुपर्ने हुनसक्छ । तर, अहिले भएको यो गठबन्धन देश र जनताका लागि नभई कुनै व्यक्तिको महत्वाकांक्षा पूरा गर्न निर्माण गरिएको हो । त्यसैले यस्तो अस्वाभाविक गठबन्धन देशको हितमा नहुने त प्रष्ट नै छ, कति लामो समयसम्म चल्छ भन्ने पनि प्रश्न छ । साथसाथै फेरि देश अस्थिरताको भूमरीमा फस्ने निश्चित देखिएको छ ।

अन्तिम समयसम्म देउवा बन्धक बन्दा
२ वर्षदेखि सहकार्य गरेको र गत चुनावमा पनि गठबन्धन गरेकाले माओवादीले आफूलाई धोका नदिनेमा कांग्रेस सभापति ढुक्क थिए । पहिलो दल भएकाले प्रधानमन्त्रीमा उनको दाबी त स्वाभाविक नै थियो । तर, जसरी पनि प्रधानमन्त्री बनिछाड्ने अडान लिएका प्रचण्डले भने आफ्ना दोस्रो तहका नेताहरुलाई भने एमालेसँगको वार्तामा निरन्तर लगाइरहेका थिए ।

सभापति देउवाले कांग्रेस, माओवादी, नेकपा एस, जनमोर्चा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर सरकारको नेतृत्व गर्ने तयारी गरेका थिए । यी पार्टीको नै बहुमत पुग्ने भएपछि उनले चौंथो ठूलो दल रास्वपा, जसपा र राप्रपालाई गठबन्धनका लागि कुनै प्रयास नै गरेनन् ।
तर, प्रचण्ड भने कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अडानमा भएकाले उनले एकातर्फ कांग्रेसलाई दबाब दिइरहने तर गठबन्धन नछोड्ने आश्वस्त पारिरहे भने अर्कोतर्फ एमालेसँग पनि सहकार्य हुनसक्ने विकल्पतिर पनि प्रयास गरिरहे । प्रचण्डको यही रणनीतिलाई देउवाले बुझ्न सकेनन् र अर्को विकल्प सोच्नेतर्फ ध्यानै दिएनन् ।

एमाले–माओवादी गठबन्धन यसकारण छ अस्वाभाविक
देशमा संघीय लोकतान्त्रिक व्यवस्था कायम भए पनि स्थिरता छैन । दोस्रो जनआन्दोलनपछि राजसंस्थालाई बिदाइ गरेर बनेका कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पूरा गरेका छैनन् । यो बीचमा कांग्रेस र कम्युनिस्टबीच कैयौं सरकार बने, धेरै प्रधानमन्त्री र मन्त्री बने, तर देश र जनताले अपेक्षाकृत कुनै सुधार महसुस गर्न पाएका छैनन् । विभिन्न समयमा हुने अप्राकृतिक गठबन्धनका कारण एकपटक पाएर दलहरुले चुनावमा बहुमत पनि पाउन सकेका छैनन् । पाएको बहुमत पनि आफ्नै आन्तरिक द्वन्द्वका कारण गुमाएका छन् । यसमा सधैंजसो माओवादी नै प्रमुख कारक बन्दै आएको छ ।

यसबीचमा कांग्रेस र माओवादीबीचको गठबन्धन पनि स्वाभाविक थिएन । तर, तत्कालीन केपी शर्मा ओलीको प्रतिनिधिसभा नै विघटन गर्ने अलोकतान्त्रिक कदमका कारण जुटेका यी दलहरुको दुई वर्षयताको सहकार्य र चुनावमा गठबन्धनले पनि आगामी दिनमा यही अवस्थाको निरन्तरता देशले खोजेको थियो । आगामी चुनावसम्ममा गठबन्धनको सरकारको अपेक्षा गरिरहेको अवस्थामा फेरिएको राजनीतिक कोर्सले फेरि देशमा अस्थिरता निम्त्याउने जोखिम बढेको छ ।

अहिलेको एमाले–माओवादी गठबन्धन किन पनि अस्वाभाविक छ भने शनिबारसम्म प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको घोषणा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार नै उनलाई प्रधानमन्त्री बनाउन मुख्य योजनाकार बने । ओली र प्रचण्डको तिक्ततापूर्ण सम्बन्ध केही घण्टामा नाटकीय रुपमा परिवर्तन आउनुले यो अवस्था भोलि कुनै बेला विस्फोट हुनसक्ने कुनै शंका छैन ।

एमाले, जो सत्ताबाट बहिर्गमन हुनाले तिलमिलाएको थियो, राष्ट्रियसभादेखि प्रतिनिधिसभा र प्रदेश सभामा अपेक्षाकृत मत पाउन नसकेर छटपटाएको थियो, यस्तो अवस्थामा माओवादीको साथले फेरि सत्ता वरिपरि हुन पाउने अवस्थामा नाइँ भन्ने अवस्थामा थिएन । ओलीले माओवादीसँग सहकार्यका लागि किन्तु परन्तु नभनी सहकार्यका सहमति दिनु यही कारण नै हो ।

यसले क्षणिकमा हेर्दा प्रचण्डको जित र कांग्रेस सभापति शेरबहादुर देउवाको हारजस्तो देखिए पनि कालान्तरमा भने देशको केही वर्ष अझै अन्योलतामा बित्ने प्रष्ट भएको छ । नयाँ सत्ता समीकरणले फेरि एकपटक सत्ताको बार्गेनिङ चल्ने देखिएको छ, जसका कारण ५० को दशकमा जस्तै छिटोछिटो सरकार परिवर्तन र गठनको श्रृंखला चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर