करिब ३ वर्षपछि रसुवागढी नाका दुईतर्फी सञ्चालन

करिब ३ वर्षपछि रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको छ । कोभिड–१९ सुरु भएपछि नाका एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो । बुधबारदेखि यो नाकाबाट नेपाली सामग्री चीन निर्यात हुन थालेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले समेत बुधबारको कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै चीन थप नेपाली सामानको प्रतीक्षामा रहेको जनाएको छ । बाँसका मुढालगायतका विभिन्न सामानले भरिएका ६ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले जनाएको छ ।

बुधबार पहिलो दिन ५० लाख नेपाली रुपैयाँ बराबरका आठ कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

२०७६ माघ १५ अघिसम्म रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत १ सय ८३ भन्दा बढी प्रकारका सामग्री चीनको ल्हासा, सिगात्से, आम्दो, झोंगालगायत ठाउँमा लगिन्थ्यो । २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको नेपाली सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

कोरोना महामारीपछि यो नाकाबाट निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण निर्यात बन्द भएको थियो ।

पछि कोरोना भाइरस देखापरेपछि आयातनिर्यात थप प्रभावित बन्यो । रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । कोरोना सुरु हुनुभन्दा अगाडि नाका दुईतर्फी नै सञ्चालनमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर