बर्दीधारीका सडक नियम

टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीतिर ध्यान दिएँ र सिसा खोल्दै सोधेँ–के भयो ? उनले सिधै गाडीको कागजपत्र मागिन् । मैले फेरि सोधेँ– किन के भयो र ? उनले ‘गाडीको बम्पट’ मात्र भनिन् । हतारमा एउटा कागज उनको हातमा थमाइदिएँ । मलाइ लाग्यो–कुनै गाडीले पार्किङ गरेको ठाउँमा मेरो गाडीलाई ठक्कर दिएर बम्पट फुटाइदिएछ क्यारे । ट्राफिक प्रहरीलाई मैले कसैलाई ठक्कर दिएर आएँ भन्ने परे छ कि ?

कुरा अर्कै रहेछ । गाडीको पछाडि सुरक्षाका लागि सेफ्टी गार्ड राखेको थिएँ । त्यो राख्नु प्रहरीका लागि आपत्तिजनक भएछ । एक महिनादेखि उनीहरु ‘सेफ्टी मेजर’ अपनाउने गाडीलाई खोज्दै दुःख दिँदै बसेका रहेछन् । म यसबारे विल्कुल जानकार थिइन् । मैले के यसले गाडी नम्बर छोप्यो भनेर सोधेँ । त्यो पनि होइन रहेछ । ट्राफिक लाइटमा हरियो बत्ती बलिसकेको थियो । पछाडिका गाडीहरु अड्किरहेका थिए । उनले अर्को ट्राफिक युवतीलाई मेरो गाडीमा हतारहतार चढ्न भनिन् र ट्राफिक कार्यालय जानुपर्ने उर्दी सुनाइन् ।

अगाडि बढ्दै गर्दा मैले गाडीमा बसेकी युवतीलाई ट्राफिक कार्यालय कहाँ छ भनेर सोधेँ । पुरानो ब्लुबर्डको अगाडि रहेछ । त्यहाँ जाने ट्राफिकसम्मत बाटो थिएन । त्रिपुरेश्वरबाट सिधै अगाडि थापाथली, प्रसूतिगृह वा कोपुण्डोल जानुबाहेकको विकल्प ट्राफिकले दिएको छैन । मैले उनै युवतीलाई सोधेँ, उनीसँग पनि जवाफ थिएन । उनले चोक नपुग्दै मोड्न पाइने ठाउँ हो वा होइन भन्ने जवाफ दिन सकिनन् । थापाथली चोक नजिकबाट ‘यु टर्न’ गरेर उनको कार्यालयमा गएँ ।

एक जना प्रहरी सहायक निरीक्षक रहेछन् हाकिम । ती युवतीले म र मैले दिएको कागज (हतारमा बीमाको कागज परेको रहेछ) हस्तान्तरण गर्दै भनिन्, “उहाँले बम्पट झिक्नु भएको रहेनछ, कागजपत्र पनि यति मात्रै रहेछ ।”

यसलाई बम्पट भन्छन् कि सुरक्षा कवच ? मलाई अहिले पनि थाहा छैन । मसँग कागज सबै थियो तर उनलाई दिएको मात्रै त्यति थियो । प्रहरी सहायक निरीक्षकले कागजको खास खोजी गरेनन् । मैले उल्टै प्रश्न गरेँ– मेरो गल्ती के हो ? उनले फेरि त्यही सेफ्टी गार्ड निकाल्न भने । मैले कारण जान्न चाहेँ । उनले त्यो राख्दा सेन्सरले काम नगर्ने भएकाले झिक्न लगाइएको बताए । मैले मेरो गाडीमा सेन्सर नै छैन, यो नियम त सेन्सर हुनेका लागि होला नि भनेँ । तर उनले सबैलाई एउटै व्यवहार गरिएको दाबी गरे ।

म उनीसँग सहमत हुने कुरै थिएन । मैले खरिद गरेको वस्तु अर्थात् मेरो सम्पत्तिको सुरक्षा गर्नु कसरी गल्ती भयो ? यसले न बाटो रोक्छ, न नम्बर छेकेको छ । बरु हुर्रिएर आउने बाइकबाट सुरक्षा भइरहेको छ । मेरो गाडीमा सेफ्टी गार्ड निकालेपछि कसैले ठोक्यो भने त्यसको जवाफदेही प्रहरी हुन्छ ? उनले मलाई गाडीको स्वरुप परिवर्तन गर्न नपाइने कानुन पढाउन खोजे । मैले के परिवर्तन पाउनुभयो भनेर सोध्न छाडिनँ । उनी धेरै तर्क गर्न चाहिरहेकै थिएनन् । बरु आदेश गरे– कागजपत्र यहाँ छाडेर जानोस्, कुनै वर्कशपमा लगेर यो खोलेर कागजपत्र लिन आउनु होला । म पनि आफ्नो जिद्दी छाडिरहेको थिइन् । पछि उनलाई के लाग्यो कुन्नि ? उनले भने, “भैगो तपाईले कागजपत्र छाड्नु परेन तर यसलाई निकाल्नु होला ।”

यति साँघुरो ठाउँमा यो कार्यालय रहेछ, सडकमा गुड्नेमध्येका सबैभन्दा सानो मेरो गाडी मोड्ने ठाउँ पनि थिएन । गाडी मोड्दै गर्दा त्यो सेफ्टी गार्डले गाडी कोरिनबाट जोगाइरहेको त्यहाँ रहेका अरु ट्राफिक प्रहरीले देखिरहेका थिए । पछि उनीहरुकै सहयोगमा गाडी निकालेर म निस्कँे । शनिबारको त्यो दिन म कुनै वर्कशपमा गइन । घरमा आएर ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा त्यस्तो सूचना कतै छ कि भनेर खोजेँ । कतै फेला पारिनँ । ट्राफिक प्रहरीको आदेश मान्ने कि नमान्ने भन्ने दोधार भइरह्यो ।

आइतबार मलाई कामका लागि निस्कनै थियो, आदेशको पालना गरेको थिइन् । सबै गाडीहरु ख्याल गर्दै गएँ । कतिमा ती सुरक्षा कवच थिए तर धेरैमा नभएको आभास भयो । केही सरकारी गाडीमा समेत निकालिएका थिएनन् । कामबाट घर फर्केर मैले प्रहरी आदेश पालन गरेँ । अर्को आइतबार धोवीखोलाको पुलबाट भाटभटेनी मार्केट निस्कनेतिर गाडी मोड्दै थिएँ, यति लामो जापानी मोडलको सरकारी नम्बरको पिकअप भ्यान मेरो अगाडि प¥यो । बा २ झ बाहेक अरु केही नबुझिने गरी हालेको उसको सुरक्षा कवच यथावत थियो । मैले उसको नम्बर प्लेट पढ्न निकै कोसिस गरेँ । अहँ, सम्भव नै भएन । मभन्दा अगाडि गुडिरहेको त्यो गाडी सिंहदरबार दक्षिण ढोकाको मुखैमा रहेको राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमा छि¥यो । सुरक्षा कवच निकालेर प्रहरी ज्यादतीबाट ढुक्क भएको म पनि सिंहदरबारभित्र छिरेँ ।

त्यो दिन ट्राफिक युवतीले ट्राफिक लाइटमा रोकिएको गाडीमा आएर जुन व्यवहार गरिन्, त्यो मेरा लागि अनौठो थियो । उनलाई मसँग कुरा गर्नु थियो भने पहिला साइड लगाउन भन्नुपथ्र्यो । बीच बाटोमा अरु साधनलाई समेत असर पर्ने गरी रोक्नु ट्राफिक प्रहरीको अधिकार हो ? अरुको साधनमा ट्राफिक प्रहरीलाई बस्ने अधिकार कहाँबाट मिल्यो ? उनले मेरो अनुमतिविना अर्की ट्राफिक युवतीलाई गाडीमा बस्न लगाइन् । मेरो गाडीमा परिवारका अरु सदस्य थिए । ती ट्राफिक युवतीमा कुनै सरुवा रोग भए वा मेरा परिवारका सदस्य बिरामी भएको भए उनको बसाईले प्रभाव पाथ्र्यो कि पार्दैनथ्यो ? गाडी मेरो व्यक्तिगत सम्पत्ति हो, मैले राज्यलाई तिर्नु बुझाउनुपर्ने सबै कर तिरेर चलाएको छु । त्यसमा सडकमा उभिने बर्दीधारीको स्वतःअधिकार हुने हो ? म उनको कार्यालय पुगेपछि ती प्रहरी सहायक निरीक्षकले अन्त्यमा जे भने, त्यो कुरा ती ट्राफिक युवतीले नै त्यहीँ भनेको भए हुन्नथ्यो ?

त्रिपुरेश्वर र थापाथलीका ट्राफिक प्रहरीको ‘स्मार्टनेश’का नाममा भएको व्यवहारले नागरिकलाई अनाहकमा दुःख दिएको छ । जसै कानुन पालना नगर्ने यातायातको साधन चलाउने धनी वा चालक दण्डित हुन्छ, उसैगरी अनाहकमा दुःख दिने बर्दीधारीले चाहिँ दण्डित हुनुपर्ने होइन ? नागरिकले तिरेको करबाट तलब खाएर म सेवा गर्न सडकमा उभिएको छु, कसैलाई सताउन होइन भन्ने चेत यिनीहरुमा फिर्नु पर्दैन ?

आज प्रहरी आदेश मानेर मैले मेरो सम्पत्तिको सुरक्षा कवच निकालीरहँदा अझै चित्त बुझ्दो कारण फेला पारेको छैन । तपाईलाई यसबारे केही थाहा थियो कि ? (आचार्य नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुन्)

प्रतिक्रिया

7 thoughts on “बर्दीधारीका सडक नियम

  1. हजुरले भनेका कुरा हरु मलाई चित बुझ्याे हाे हजुरहरु ले नै तिरेकाे कर बाट तलब खान्छै । तर प्रहरी सगंठनमा आदेशकाे पालना,चेनअफ कमान्ड हुन्छ भनेकुरा हनुरलाई थाहा थिएन कि थाँहा पाएरनि बुझपचाउनु भाे अनि हजुर आफै भनुस कहिल्यै हजुरले हजुरकाे सिसा मा धक धक गर्ने र अरु तेस्तै निम्न स्तरका कर्मचारीकाे बारेमा कुनै फुर्सदकाे समयमा ५ मिनेट साेचनु भाछ । साेच्नु भाछ भने दुख पीडामा परेका दुखि पिडित काे बारेमा नि लेखनुहाेस ।धन्यवाद ।

  2. सबै गाडीमा अहीले आफु खुसी गाडीको सुरक्षा को लागी भनेर steel को फलामको बम्पर्ट राख्ने गरीन्छ चाहे गाडी जती सुकै महङ्गो किन नहोस वा सानो ठुलो सबैमा plastic fiber को बम्पर्ट राखेको हुन्छ राख्नु पर्छ यसको भाग्य कारण भनेको यदी गाडी ले सडकमा पैदल यात्रु जिव जनवार लाई ठकर दिदा कम भन्दा कम क्षेती होस भनेर यस्तो नियम संसार भरी दिगु गयीएको छ । तपाई को गाडीको सुरक्षाको चासो तपाई लाई रहेछ राम्रो तर अब पैदल यात्रु वा जिव जनवारको सुरक्षा तर्फ पनि चासो राख्नु होला ।

  3. उचित व्यवस्थापन नगरी नियम मात्र बनाउँछन ट्राफिक प्रहरीले आजभोली अधिकार को दुरुपयोग गरेको जस्तो लाग्छ मलाई अनि सरकारी गाडी लाई चेकिङ हुँदैन नियम त सबैलाई लाग्नुपर्ने होनि

  4. Kathamandu ma dherai thauma , dherai nai trafic police hare le yesari nai sabai lai anahak ma dukh didai mile paisa ( ghush ) line na mile cheat katne ra tyo pani na mane trafic karyalaye jabarjati lane gareko paye , rule pura garera rokne thauma nai bike rokda 2/3 palta mero pani cheat kateko chan , yesta ghusyaha trafic lai thik garne pani kunai niyem hunu paryo

  5. त्रीपुरेश्वरका महिला ट्राफिक प्रहरी हरुबाट थुप्रै सवारी चालाक हरु आजित भएका छन । अनाहकमा नागरीकलाई दु:ख दिएर जरिवाना तिराउछन । एकपटक म पनि त्यस्तै अनाहकमा जरिवानाको फन्दामा पेरेको छु । कुरो त्रीपुरेश्वर चोकैको सन्ध्याकालिन चेकिङ समयमा हो, गाडी चेकिङको लाईनमा रोकियो, महिला युवती ट्राफिकले साईड्लाईट सबै बाल्न लगाए, ठिकठाक थियो, बिलबुक माग्यो, तेहि अगाडि नै भएकोले फुत्त निकालेर दिए, अब लाईसेन्स पनि मागी हाल्छे भनेर सिटबेल्ट खोलेर पछाडिको पकेट बाट पर्समा भएको लाईसेन्स निकालेर ठिक्क पारे, बिलबुक सबै ठिक ठाक भेटेपछी लाईसेन्स पनि मागी, मैले पहिल्यै तयारी गरेर राखिसक्या थिए, फुत्त दिए अनि लाईसेन्स त स्मार्ट वाला झन नयाँ थियो फरक पर्ने कुरै भएन, अनि पुलुक्क म तर्फ हेरेर तपाईंले सिटबेल्ट बान्नु भएको रहेनछ, गाडी साईड लगाउनुस भनेर मेरो लाईसेन्स नदिकन छेउलागी, चिट निकालेर काट्न थाली, मैले अनुरोध गरे, तपाईंले बिलबिक चेकगर्दै गर्दा पर्सबाट लाईसेन्स निकाल्नकै लागि सिटबेल्ट खोलेको हो भनेर भन्दा मेरो कुरो सुनेन, सिटबेल्ट बाधेकै छैन भनेर चिट थमाई । म बबुरो भोलिपल्ट रु.५००/- जरिवाना बुझाएको बैकभौचर लिएर तेहि कोप्छे ट्राफिक अफिस गएर आफ्नो लाईसेन्स लिएर आए । अनाहकमा दु:ख दिएकोले आफ्नो त नमिठो सङ्ग चित्त फाट्या छ, महिला ट्राफिक देख्ने बितिक्कै तेतिकै रिस उठेर आउँछ, त्रीपुरेश्वर तिरका महिला ट्राफिक प्रहरी हरु भनेको मानबिय सम्बेन्दना समेत मरेका महिला हरु जस्तो लाग्छ मलाई । तपाईंको पीडा पढे पछि मैले पनि तेहि ठाउँमा भोगेको आफ्नो पीडा पोखिदिए ।
    : मनोज श्रेष्ठ

Leave a Reply to ganga bahadur kala Cancel reply

Your email address will not be published. Required fields are marked *