पोखरामा सडक महोत्सव : ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’

पवित्र शान्त पोखरा सधैंभरि हरा भरा
अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।
अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति
अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।।

कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता संग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पंक्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको वरदान हो पोखरा । प्राकृतिक सौन्दर्यका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ ।

देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झण्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दशैं तथा तिहारको समयमा ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् ।

पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अंग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उनले राम्रा होटलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिए ।

‘क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ,’ उनले भने, ‘अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।’

पोखराका सामान्य होटलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उनले जानकारी दिए । विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवं होटल इलेगेन्टका सञ्चालक बोबरजंग गुरुङले जानकारी दिए ।

प्रत्येक अंग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटलहरू भरिभराउ हुने गरेको यहाँका व्यवसायीको अनुभव छ ।

पछिल्ला वर्षमा अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एसोसिएशन (रेवान) ले गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ ।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ ।

महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अंग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सन् २०२३ को जनवरी १ देखि (भोलिदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै गर्दा यसको पूर्वसन्ध्यामा अंग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो,’ उनले भने, ‘विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने् र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी

यस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर भोलि हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको औपचारिक शुभारम्भका लागि पोखरामा भव्य तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने जनाइएको छ । उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसम्बद्ध संघसंस्था क्रियाशील बनेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ ।

त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ ।

विमानस्थल उद्घाटनकै तयारीस्वरूप पुस १३ गते लेक साइडदेखि पृथ्वी राजमार्गको लामेआहालसम्म बृहत् सरसफाइ गरिएको थियो ।

अंग्रेजी नयाँ वर्षले पोखराको चहलपहल बढिरहेका अवस्थामा हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुभारम्भलाई अत्यन्त महत्त्वका साथ हेरिएको पर्यटन व्यवसायी एवं टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय सहर बनाउन विमानस्थल कोसेढुंगा सावित हुनेछ,’ उनले भने, ‘विमानस्थलसँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा जोडिने सडकलगायतका पूर्वाधार निर्माणतर्फ राज्य गम्भीर बन्नु आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर