कास्कीमा आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सूरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीका कारण निर्वतमान वडाध्यक्षसमेत रहेका गुरुङको मृत्यु भएको सोही वडाका वर्तमान वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सूरजकुमार वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे । उनका छोरा–बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजंगले जानकारी दिए ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *