काठमाडौंको सामाखुशीमा आगलागी, चार पसल पूर्ण रूपमा जले, ३० लाखको क्षति

काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक भएको आगलागीबाट करिब २५ देखि ३० लाख रुपैयाँको क्षति भएको छ। आगलागी नियन्त्रणमा भने आइसकेको छ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगलागी ९ बजे पूर्ण रूपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पुरुषोत्तम मानन्धर सञ्चालक रहेको आकाश जोगिनी इन्टरप्राइजेजको कम्पाउण्डभित्र रहेका टहरामा विद्युत सर्ट भई सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो।

आगलागीबाट पेट्रोलपम्पको कम्पाउण्डमा रहेका लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको स्पेशल मःमः पसल, कुमार देवान राईले सञ्चालन गरेको गाडीको सिट–हुट मर्मत गर्ने पसल, रघुवीर शाहले सञ्चालन गरेको चाट पसल र अर्जुन गुरागाईंले सञ्चालन गरेको खुद्रा पसल र गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीमा मानवीय क्षति भने भएकाे छैन।

आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्यांकर प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको १७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर