सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता

प्रतिनिधि सभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन्।

वि.सं. २०१३ मा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद थिए। उनी प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। उनी वि.सं. २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए। घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी कमिटी सदस्य छन्।

बुधबार अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवनमा प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची बुधबार अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ।

प्रतिनिधि सभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ। उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने छ। प्रतिनिधि सभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने छ। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रूपमा प्रतिनिधि सभा रहिआएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *