सभामुखमा मेरो जित सुनिश्चित छ : उम्मेदवार घिमिरे

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्।

बुधबार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए। उनले आफू निर्वाचित भइसकेपछि सांसदहरूलाई सहमतिका साथ अघि बढाउने बताए। उनले सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्यसम्पादन गर्ने बताए।

सत्तारूढ दलहरूको तर्फबाट साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन्।

प्रतिनिधि सभामा समामुखको निर्वाचन बिहीबार हुँदैछ। एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *