नेपाली बजार कब्जा गर्न खोज्दा चिनियाँ लगानीको होङ्सी सिमेन्ट डुब्दै

चिनियाँ लगानीकर्ताको स्वामित्व रहेको मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी आन्तरिक विवादले डुब्ने अवस्थामा पुगेको छ । बहुमत सेयर रहेका चिनियाँ लगानीकर्ताले मनपरी निर्णय गर्न थालेपछि नेपाली लगानीकर्ताहरु सञ्चालक समितिबाट बाहिरिएका हुन् । उनीहरुले उद्योगको आर्थिक अवस्था पनि अत्यन्त नाजुक भएको र कुनै पनि बेला डुब्ने अवस्थामा पुगेको बताएका छन् ।

होङ्सीले २०७५ सालदेखि आफ्नो उत्पादन थालेको थियो । नवलपरासीमा रहेको यो उद्योगमा चिनियाँ लगानीकर्ताका साथै शारडा ग्रुपलगायतको ३० प्रतिशत स्वामित्व थियो ।

शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र विश्वनाथ गोयल होङ्सीको बोर्ड सञ्चालक थिए भने सुशील गुप्ता वैकल्पिक सञ्चालक थिए । चिनियाँ लगानीकर्ताको मनपरी निर्णयका कारण उद्योगको आर्थिक अवस्था संकटमा परेपछि नेपाली लगानीकर्ता सञ्चालक समितिबाट बाहिरिएका हुन् ।

एक लगानीकर्ताका अनुसार चिनियाँ लगानीकर्ताले नेपाली बजारमा एकाधिकार कब्जा गर्ने गरी केही समययता कम मूल्यमा सिमेन्ट बिक्री गदै आएका छन् । त्यस्तो रकम अझै बजारमा उठ्न बाँकी रहेको र कर्मचारीलाई तलब खुवाउन पनि अप्ठयारो पर्ने अवस्था आएको ती लगानीकर्ताको भनाइ छ । तर, उद्योगको आर्थिक दायित्व नेपाली लगानीकर्तालाई पनि पर्ने भएपछि उनीहरु सञ्चालक समितिबाट बाहिरिएका हुन् ।

उद्योगमा एनएमबी बैंकको नेतृत्वमा ६ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । एनएमबीको ३ अर्ब र राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । तर, पछिल्लो समय उद्योगको अवस्था नराम्रो भएपछि बैंकहरु पनि उद्योगबारे गम्भीर छलफलमा लागेका हुन् ।

नेपाली सिमेन्ट बजारलाई कब्जा गर्ने उद्देश्यले चिनियाँ लगानीकर्ताले लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्दै आएका हुन् । केही समयपछि अन्य सिमेन्ट कम्पनी प्रतिस्पर्धा गर्न नसकेर बाहिरिने र त्यसपछि आफूखुसी मूल्य राखेर बिक्री गर्ने चिनियाँ लगानीकर्ताले रणनीति बनाएका हुन् । तर, यसो गर्दा उद्योगको आर्थिक अवस्था भने दिनप्रतिदिन कमजोर भइसकेको छ । यही कारणले तलब नपाउँदा कर्मचारी नै आन्दोलनमा उत्रिएका छन् ।

उद्योगले कर्मचारी र ट्रक चालकलाई ६ महिनादेखि तलब दिएको छैन । गत पुस १९ मा कर्मचारीले विरोध गर्दै उद्योगअघि प्रदर्शन गरेका थिए भने ढुवानी पनि रोकेका थिए ।

गत वर्ष होङ्सीले १७ अर्ब ४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । ३० प्रतिशत नेपाली साझेदार शिवम् र हङकङ रेडलाइन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० प्रतिशत लगानी उद्योगमा छ । नेपाली बजारमा होङ्सीका उत्पादनको बजार हिस्सा २५ प्रतिशतमाथि छ । उद्योगमा महाप्रबन्धकदेखि व्यवस्थापकीय नेतृत्व सबै चिनियाँको छ । हाल उद्योगको कुल उत्पादन क्षमता भने दैनिक १२ हजार टन छ । कम्पनीको चुक्ता पुँजी साढे ३६ अर्ब रुपैयाँबराबर छ । उद्योगले स्थापनाताका स्थानीयसँग गरेको प्रतिबद्धता पनि पूरा नगरेको गुनासो छ ।

चिनियाँ लगानीकर्ताको बदमासी उद्योग स्थापनायता देखि नै भएको थियो । २०७६ सालमा सिमेन्टमा मनलाग्दी ग्रेड राखेर उपभोक्तालाई झुक्याउँदै आएको सार्वजनिक भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगमाथि छानविन सुरु गरेको थियो । त्यतिबेला कानुन विपरीत होङ्सीले सिमेन्टमा ग्रेड राखेर बिक्री गरेको पाइएको थियो । सरकारले सिमेन्ट उद्योगलाई ग्रेड लेख्ने अनुमति नै नदिएको बेलामा होङ्सीले ग्रेड उल्लेख गरेर सिमेन्ट बेचिरहेको फेला परेको थियो । होङ्सीले ४३ ग्रेड लेखेर बजारमा सिमेन्ट बेचिरहेको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणमा होङ्सी सिमेन्टले ‘इनिसियल सेटिङ’ बिगारेर सिमेन्ट उत्पादन गरेको तथ्य फेला पारेर कारबाही अघि बढाएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर