नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सुरु (तस्बिरहरू)

सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जंगीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ शुक्रबारदेखि फोटो तथा युनिट विशेष प्रदर्शनी सुरु भएको छ।

सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा सुरु उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको उद्घाटन गरेका हुन्। प्रदर्शनीको पहिलो दिन सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले फोटो प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगितमा गैरसैनिकतर्फ सञ्जोग बुढाथोकी प्रथम भएका छन्।

उनलाई प्रधानसेनापति शर्माले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भए। उनीहरूले क्रमशः जनही ३५ हजार र २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्राप्त गरे।

उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका थिए। प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा सैनिकतर्फ १४ नं. बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए। सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ एक सय ४५ वटा तस्बिर प्राप्त भएको थियो।

प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ। यस्तै सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचडी, सैनिक पोसाक र उपकरण तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ।

नेपाली सेनाले उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक व्यक्तिलाई सहभागिताका लागि आग्रह गरेको छ। प्रदर्शनी माघ ९ गतेसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ। नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *