अदुवाको बीउ खरिदमै २ करोड बढी भ्रष्टाचार, पूर्वमेयरसहित ६ जनाविरुद्ध मुद्दा

अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदमा २ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमेयर भूपराज अधिकारीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। सोमबार विशेष अदलत, काठमाडौंमा पूर्वमेयर अधिकारी, नगरपालिकाका तत्कालीन कर्मचारी र बीउ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिविरुद्ध मुद्दा दर्ता गरेको हो।

महँगो मूल्यमा गुणस्तरहीन अदुवाको बीउ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीउ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

स्पेसिफिकेसनमा उल्लिखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

गल्याङ नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीउ खरिद गरेको थियो। जसको बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ थियो। ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको थियो।

स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालिन नगर प्रमुख अधिकारीले अस्वाभाविक रूपमा दररेट थप गरेर नोक्सान पारेको अख्तियारले बताएको छ। त्यसैले १३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा पूर्वमेयर अधिकारीलाई मात्र विपक्षी बनाइएको छ।

बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ।

अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तीनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ दिएर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले उनीसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरेको छ।

प्रतिक्रिया

One thought on “अदुवाको बीउ खरिदमै २ करोड बढी भ्रष्टाचार, पूर्वमेयरसहित ६ जनाविरुद्ध मुद्दा

  1. हाम्रो देशमा भ्रष्टाचारको अन्ते कहिले हुन्छ?

Leave a Reply to Kabi sunuwar Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर