रोहित-विष्णु हत्याकाण्डको नालीबेली

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या : प्रहरीकाे भूमिकामै प्रश्न चिह्न

प्रहरीको प्रदेश र जिल्ला नेतृत्व फेरिएकै समयमा जनकपुरका दुई युवाको भारतमा हत्या भएको छ। मधेसका प्रहरी प्रमुख डीआईजी मसाउद आलम खाँको जिम्मेवारी परिर्वतनसँगै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवर हालै मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीसहित सरुवा भएका छन् भने धनुषाका एसपी वसन्त रजौरेको सरुवासँगै एसपी विश्वराज खड्काले जिल्ला प्रहरी प्रमुखको भूमिका निर्वाह गरिरहेका छन्।

भारतीय प्रहरीले आफन्तकहाँ गएका युवा घरबाट निस्केकै दिनदेखि सम्पर्कविहीन बनेको विषयमा हत्याको दुई/तीन दिन अगावै नेपाल प्रहरीबाट जानकारी पाएको जनाएको छ। मृतक युवाका परिवारले पनि प्रहरीकाे ढिलासुस्तीका कारण युवाहरूकाे हत्या भएकाे बताइरहेका छन्। हत्या हुनुअघि नै युवाहरू सम्पर्कविहीन बनेको विषयमा जानकारी हुँदाहुँदै युवाहरूको हत्या हुनुले प्रहरीको भूमिका र सक्रियतामाथि नै प्रश्न चिह्न खडा भएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको अपहरणपछि हत्यामा यतिबेला साथीकै संलग्नताकाे दाबी भइरहेकाे छ। दुवै युवाकाे भारतको सीतामढीमा अपहरणपछि हत्या भएको हाे । धनुषा प्रहरीले हत्या अभियोगमा पक्राउ गरेका दुईमध्ये एक जनाको हत्या गरिएका युवासँग पुरानै सम्बन्ध रहेको आधारमा कतै उनकै संलग्नता थियो कि भन्ने आशंका गरिएको हो ।

तर, पर्दाफासले घटनाको अनुसन्धान गरिरहेका विहारको सीतामढी जिल्लाका एसपी हरकिशोर रायसँग गरेको कुराकानीमा शंका गरिएका युवाको अपहरण गरिएकै दिन हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै युवकको अपहरणपछि हत्या गरेको आरोपमा पकाउ गरेका किसन पण्डित र मारिएका रोहित साह साथी रहेको खुलेको जनाएको छ।

महोत्तरीको सिसवा नगरपालिका–२ इटहर्वाका २४ वर्षीय पण्डितलाई धनुषा प्रहरीले जनकपुर–८ बलवा टोलस्थित डेराबाट आइतबार पक्राउ गरेको थियो। पण्डित र साह साथी हुन्। धनुषाका डीएसपी दीपकबहादुर क्षेत्रीका अनुसार पण्डितले प्रयोग गर्ने मोबाइल ती दुवै युवक अपहरणमा परेकै बेलादेखि स्विचअफ थियो। तर, पछिल्लो समय यी दुवैबीच पटकपटक फोन सम्पर्क भएको देखिएको उनले बताए।

पण्डितकै गाउँ इटहर्वाका २४ वर्षीय मुकेश पासवानलाई पनि धनुषा प्रहरीले दुई युवकको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ गरेको छ। पासवानलाई उनकै घरबाट पक्राउ गरिएको थियो।

पुस २७ गतेदेखि सम्पर्कविहीन बनेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ का २२ वर्षका विष्णु साहको आइतबार हत्या गरिएको अवस्थामा भारतको विहार राज्यअन्तर्गत बेला थानाको पर्सा गाउँमा शव भेटिएको थियो। सीतामढी जिल्लाका एसपी हरकिशोर रोयले एक व्यक्तिको निजी जग्गामा खाल्डो खनेर गाडिएको अवस्थामा उनीहरूको शव भेटिएको बताए।

 हत्या प्रकरणका विषयमा भारत सीतामढी जिल्लाका एसपी हरकिशाेर राेय :

उनका अनुसार पुस २७ देखि बेपत्ता रहेका दुई युवाको विषयमा धनुषा प्रहरीले भारतीय प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि दुवै देशका प्रहरीले घटना सम्बन्धमा संयुक्त अनुसन्धान गरिरहेका थिए। अनुसन्धानका क्रममा हत्यामा संलग्न देखिएपछि धनुषा प्रहरीले दुई र सीतामढी प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सीतामढी प्रहरीले सीतामढी जिल्ला बेला थानास्थित रजवाडाका सुनील सहनी, अजित भण्डारी तथा सुकी मुसहरनिया गाउँका इन्द्रजित बैठा र अजय बैठालाई पक्राउ गरेको हो। घटनामा अन्य केहीको पनि संलग्नता देखिएको छ र फरार रहेका उनीहरूको खोजी भइरहेको एसपी रोयले बताए।

एसपी रोयले दुई युवा आफन्तकहाँ नपुग्दै अपहरणमा परेको देखिएको बताए।

‘अपहरणकारीले एक युवाको केही अगाडि र एकको केही दिन पछाडि हत्या गरेको देखिन्छ,’ एसपी रोयले भने, ‘लुकाएर राख्न असहज भएपछि एक जनाको पहिल्यै नै हत्या गरेको देखिन्छ। त्यसपछि अर्का युवालाई पनि सुरक्षित तवरले लुकाउन चुुनौती भएपछि केही दिनको फरकमा हत्या गरेको देखिएको छ।’

रोयका अनुसार अपहरणकारीले अपहरित युवाका आफन्तलाई सम्पर्क गरी फिरौती माग गरेपछि युवाका परिवारले प्रहरीलाई खबर गरे र अपहरणकारीले अपहरित युवाको हत्या गरे।

मृतक युवाहरू साथीसाथी हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने मामाको घर गएका थिए।

जनकपुरका दुई युवा रोहित साह र विष्णु साहको अपहरणपछि हत्या घटना विषयमा मृतकका आफन्त रामबाबु साह :

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए।

अपहरणकारीले विष्णुका परिवारलाई फोन गरेर सुरुमा २० लाख मागेका थिए। २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको बार्गेनिङ गर्न थाले। त्यहीबीच अपहििरत युवालाई लुकाउन असजिलो भएपछि अपहरणकारीले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छाडेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए।

विष्णु र रोहित परिवारको एक्ला छोरा थिए। दुवै युवकको शव नेपाल ल्याएर सोमबार अन्तिम संस्कार गरिएको छ। क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन्।

सोमबार प्रहरीको लापरबाहीका कारण युवाहरूको मृत्यु भएको भन्दै आक्रोशित परिवार र आफन्तले जनकपुर–ढल्केबर सडकखण्ड अवरोध गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा सजायको माग गरेका थिए।

 हेर्नुहाेस् हत्याकाण्डकाे विस्तृत भिडियाे रिपाेर्ट :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर