सोमालियाकाे सैन्य कारबाहीमा अल-शबाबका ३९ लडाकु मारिए

सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अल-शबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन्। सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ।

सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रुवाहक एउटा बसमा आगजनी गर्ने लडाकालाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ। राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै उक्त रेडियो समाचारमा उल्लेख गरिएको छ। राजधानी मुगादिसुमा आतंकवादी समूहले गरेको घातक हमलाको एक दिनपछि सेनाले उक्त कारबाही गरेको हो।

गत शुक्रबार अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा ३० जना विद्रोही मारिएका थिए। राजधानी मोगादिसुबाट करिब दुई सय ६० किलोमिटर उत्तरपूर्वमा रहेको गाल्काडा शहर नजिक अमेरिकी सेनाले हवाई कारबाही गरेको थियो। विगत केही दिनदेखि सोमाली राष्ट्रिय सेना र आतंकवादी संगठन अलशबाबका लडाकुबीच भीषण युद्ध भइरहेको छ।

यसअघि गल्काडास्थित सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा सात जनाको मृत्यु भएको थियो। सोमाली सूचना मन्त्रालयले भने सैनिक शिविरमा भएको दोहोरो झडमा दर्जनौं आतंककारी मारिएका दाबी गरेको थियो। सन् २००६ देखि अल-शबाबले सोमालियाको केन्द्रीय सरकारलाई पदच्युत गरी चरमपन्थी इस्लामिक शासन लागू गर्ने उद्देश्यले देशका विभिन्न भागमा रहेका सैनिक शिविर र नागरिकमाथि आक्रमण गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *