बाजुरा भूकम्पमा परी एक जनाको मृत्यु, एक घाइते

मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ। बाजुराको गौमुल गाउँपालिका–२, जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले भूकम्पका कारण खसेको ढुंगाले लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए।

यस्तै गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलनको काम भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर