सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वार्टरफाइनल समीकरण पूरा

सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

नेपाल नम्बर एक प्रोफेशनल गल्फर शुक्रबहादुर राई, दोस्रो वरीयताका साविक विजेता भुवन नगरकोटी तथा रवि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाएका छन्।

शुक्रले २०औं वरीयताका टंकबहादुर कार्कीलाई सहजै ५–४ ले हराए। शुक्रले क्वार्टरफाइनलमा १०औं वरीयताका भुवनकुमारलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरीयताका रामे मगरलाई २–१ ले माथ दिए।

दोस्रो वरीयताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २–१ ले हराए। उनले अब आठौं वरीयताका धनबहादुरसँग खेल्नेछन्। धनले पहिलो चरणमा ११औं वरीयताका धरानका बलभद्र राईलाई ३–२ ले पराजित गरे।

यसैगरी तेस्रो वरीयताका जयरामले क्वार्टरफाइनलमा पुग्ने क्रममा १७औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) पराजित गरे। उनले अब सातौं वरीयताका दिनेशसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सूर्यप्रसाद शर्मालाई पराजित गरे।

अर्को खेलमा पाँचौं वरीयताका रविले १५औं वरीयताका प्रदीपकुमार लामालाई २–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरे। उनले १३औं वरीयताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३–१ ले माथ दिए।

गत सिजनको उत्कृष्ट १६ प्रोफेशनल गल्फरले प्रतियोगितामा भाग लिने भए तापनि चार खेलाडी देशबाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि हुने खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ। बुधबार क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू हुनेछन्। बिहीबार तेस्रो स्थान र फाइनल खेल खेलिनेछन्।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ।

विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउनेछन्। तेस्रो र चौथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर