नेपाली र भारतीय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडानलाई बढावा दिन सुझाव

नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन्।

भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा मंगलबार आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्रियामा उनीहरूले दुवै देशबीच ‘फिनटेक’मा थप सहकार्यको आवश्यकता औंल्याएका हुन्। दुई देशको स्टार्टअप इकोसिस्टमलाई एकै ठाउँमा ल्याउन इण्डिया–नेपाल स्टार्टअप जडानको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयका बारेमा प्रष्ट पार्दै सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवर्द्धन वर्षको तयारी गरिएको बताए। उनले नेपाल र भारतबीच फिनटेकमा थप सहकार्यका लागि आह्वान गर्दै क्रस बोर्डर भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा आयोजित कार्यक्रम नेपाली र भारतीय स्टार्टअप इकोसिस्टमबीचको जडानलाई बढावा दिनमा केन्द्रित थियो। कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले वित्तीय समावेशीकरण र स्टार्टअप सक्षम पार्न जन धन, योजना, आधार र मोबाइल नम्बर जस्ता डिजिटल सार्वजनिक वस्तुको महत्व रहेको उल्लेख गरे।

सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरसम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने स्टार्टअप इण्डियाका अनुभवकुमार दासले स्टार्टअप इण्डिया योजनाबारे प्रस्तुति दिएका थिए। स्टार्टअप इण्डिया योजना सन् २०१६ जनवरी १६ देखि सुरु भएको हो। ‘पेनियरबाइ’ का सीईओ आनन्द बजाजले सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारेमा जानकारी गराएका थिए।

उद्घाटन सत्रपछिको पहिलो समूह छलफल ई–कमर्स र फिनटेक क्षेत्रमा नेपाल–भारतका अवसरमा केन्द्रित थियो भने दोस्रो प्यानल छलफल नेपाली स्टार्टअपका लागि अवसरमा केन्द्रित थियो। दूतावासले नेपाल–भारत स्टार्टअप जडान प्रवर्द्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्ने जनाएको छ। साथै शैक्षिक संस्था, स्टार्टअप, लगानीकर्तालगायत नेपालका सबै सरोकारवालालाई स्टार्टअप इण्डियामार्फत भारतीय स्टार्टअप र इन्क्युबेटरमा पुग्न प्रोत्साहित गर्ने प्रतिबद्धता गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *