नेपाली सेनाले २६०औं वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाउने

नेपाली सेनाले संगठन स्थापनाको २६०औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ। सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को संख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार संगठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ। नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धनमा योगदान पुर्‍याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो। सैनिक संगठनमा गीत, संगीत र बाजागाजालाई अभिन्न अंगका रूपमा लिने गरिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदै आएको छ।

सोही अवसर पारेर छाउनी र सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिए। महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ। आधुनिक नेपालको एकीकरण अभियानका क्रममा वि.सं. १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत भएको हो।

आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो संख्यामा तीर्थयात्री काठमाडौं आउने हुनाले त्यसको महत्त्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर