जीवन यत्तिकै सकिँदैन [फोटो फिचर]

खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍याे भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ।

आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं। शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचरा भन्ने हामी अझै उनीहरूको संवेदनामा नै सीमित छौं। तर, आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन्। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन्।

कोही जन्मिदै शारीरिक रूपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए। तर, शारीरिक अशक्तताले उनीहरूको सपनामा अंकुश लगाउन सकेन, न उनीहरूले आफ्नो कमजोरीलाई जीवनमा हाबी हुन दिएर विलौनामा समय व्यतीत गरे। बरू आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र सबैका निमित्त उदाहरण बने।

विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञानसम्बन्धी विभिन्न सिद्धान्तहरू प्रतिपादन गरे। त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२औं अमेरिकी राष्ट्रपति हुन्।

उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन्। त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन्।

त्यसो त नेपालमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ। यस्ता धेरै उदाहरण छन् जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश-विदेशमा बलियो रूपमा आफूलाई उभ्याएका छन्।

नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैं काम गरेर जीविकोपार्जन गर्ने मानिसहरू धेरै छन्। जोरपाटीस्थित बीआईए इस्न्टिच्युटमा थांका बनाउँदै गरेका अपांगता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपांग संघ परिसरमा दृष्टिविहीन र अपांगता भएका पुरुष, गौशालामा व्यापार गर्दै आएका अपांगता भएकी महिलाको शक्ति हेरौं वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्ठरोग पीडित पुरुषको अनुहार हेरौं, उनीहरू आफ्नो शारीरिक रूपलाई छोडेर मानसिक रूपमा बलियो बनी आफैं कमाएर जीवन धान्छन्। थापाथलीस्थित सुकुम्बासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिविहीन नै छन्।

आवाजको सहारामा मोबाइल चलाउने, अपांगता भएकाहरू, ह्वील चेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउँडोको सहायताले ह्वील चेयर चलाउनेहरू, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्वील चेयर बनाउने, कपडाको थांका बुन्नेलगायतका काममा उनीहरू व्यस्त छन्।

न्यूज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैं कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ :

जोरपाटीस्थित बीआईए इन्स्टिच्युटमा कपडाको थांका बुन्दै अपांगता भएका कलाकार।
जोरपाटीस्थित बीआईए इन्स्टिच्युटमा कपडाको थांका बुन्दै अपांगता भएका कलाकार।
जोरपाटीस्थित बीआईए इन्स्टिच्युटमा गलैंचा बुन्दै अपांगता भएकी महिला।
जोरपाटीमा ह्वील चेयर बनाउँदै अपांगता भएका मिस्त्रीहरू।
जोरपाटीस्थित अपांग संघ परिसरमा दृष्टिविहीन र अपांगता भएका पुरुष एकअर्काको सहारामा हिँड्दै।
गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै कुष्ठरोग पीडित पुरुष ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखिया घरको काम गर्दै। उनका श्रीमान् सल्टु मुखिया पनि दृष्टिविहीन छन्।
पशुपतिमा एक दृष्टिविहीन आवाजको सहारामा मोबाइल चलाउँदै।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा बास्केट बल खेल्दै अपांगता भएका ह्वील चेयर प्रयोग गर्ने युवकहरू।
जोरपाटीस्थित बीआईए इन्स्टिच्युटमा धुप बनाउँदै एउटा खुट्टा गुमाएका पुरुष।
जोरपाटीस्थित अपांगता भएकाहरू बस्ने एक सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का। उनका हात खुट्टा दुवै चल्दैनन्। उनी चिउँडोको सहारामा ह्वील चेयर चलाउँछन् भने हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउँछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर