सभामुखको कार्यालय ‘हाइज्याक’ भयो, संसद्मा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि ‘हाइज्याक’ भएको बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारमा सहभागी हुनबाट रोक्ने हेतुले नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाएको बताए। उनले नेकपा एमाले र सरकारले सभामुखसँग चाँडोभन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाएको बताए।

उनले संसद्लाई राष्ट्रिय पञ्चायतजस्तो बनाइएको आरोप लगाए। संसद्मा कुनै पनि प्रतिपक्ष नरहेको जिकिर गर्दै संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार भएको बताए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरूसँग नेसन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए। उनले पार्टीहरू सत्ता र पदका लागि अवसर खोज्ने काममा नै लागिपरेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भूमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरू केन्द्रित भएको पुष्टि गरेको बताए। उनले राजनीतिक पार्टीहरू एजेण्डा र विचारविहीन भइसकेको बताउँदै पार्टीहरूलाई दासहरूको कुम्भ भेलाको संज्ञा दिए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भने पनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शीतल निवास पुगेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर