टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफले जिते उपाधि

पोखरामा सञ्चालित टाइगर कप भलिबलको तेस्रो संस्करणको पुरुषतर्फकाे उपाधि गण्डकी प्रदेशले जितेको छ। घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको थियो। दोस्रो सेटमा गण्डकीले २५–१८ ले जित निकाल्यो। तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जित्यो।

निकै प्रतिस्पर्धात्मक चौथो सेट एपीएफले २८–२६ ले जित्यो। तर, खेलमा खेलाडीले सुखद् अनुभव भने लिन पाएनन्। खेल लगातार बराबरी अंकमा अघि बढ्न थालेपछि गण्डकी समर्थक दर्शक उत्तेजित बने।

प्रतिस्पर्धात्मक खेलमा खेलाडी र दर्शक दुवैले संयमता गुमाउन पुग्दा एपीएफ र गण्डकी समर्थक दर्शकबीच आपसमा बोतल हानाहानको स्थितिसमेत बनेको थियो। तनावग्रस्त स्थिति नियन्त्रणमा लिन आयोजकलाई हम्मेहम्मे परेको थियो भने केहीबेर खेल रोकिन पुगेको थियो।

खेलको अन्तिम सेट गण्डकीले १५–८ को फराकिलो अन्तरले जित निकालेसँगै तेस्रो संस्करणको टाइगर कपको उपाधि जित्न सफल रह्यो। प्याराफिटभरि करिब ३ हजारको संख्यामा रहेका दर्शकको हुटिङसँगै गण्डकीले उपाधि हात पार्‍यो।

योसँगै गण्डकी टाइगर कपको दोस्रो पटक विजेता बनेको छ। पहिलो संस्करणमा गण्डकीले आर्मीलाई ३–२ ले हराउँदै उपाधि चुमेको थियो। दोस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो।

यस वर्ष सञ्चालित तेस्रो संस्करणमा भने साविक विजेता आर्मी तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिससँग पराजित हुन पुग्यो। शनिबार बिहान भएको खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको थियो।

शनिबार नै भएको टाइगर कपको महिलातर्फको फाइनल खेलमा विभागीय टोली एपीएफले उपाधि हात पारेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उसले दोस्रो पटक उपाधि चुम्न सफल रह्यो।

प्रतियोगिताका विजेता महिला तथा पुरुष दुवै टिमले समान ५/५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँमा प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर