खोटाङको लालुपाते सहकारीलाई कारबाही गर्न निर्देशन

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको दिक्तेलबजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवं उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउने वा असुलउपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गर्ने क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ रुपैयाँ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो।

कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरूले साविकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायत प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो।

कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुलउपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रक्रिया अघि बढाउन भनिएको छ। साथै आवश्यक परे हिनामिनाको मस्यौदामा दोषी भएका उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायत गर्न निर्देशन दिइएको छ।

लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको नौ करोड ११ लाख १७ हजार छ सय ७८ रुपैयाँमध्ये सहकारी बैंकले धितो लिलाम गरेर ८० लाख रुपैयाँ असुलउपर गरेको थियो। यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रुपैयाँ रकम भेटिएको सञ्चालक समितिले जनाएको छ।

गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ वि.सं. २०७२ मंसिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो।

जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो। उनको निधनपछि बचतकर्ता रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो। सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ। सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन्।

सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरूको सात करोड रुपैयाँ बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

आफूहरूको बचत रकम फिर्ता गर्न पटकपटक माग गर्दा पनि सुनुवाइ नभएपछि संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवं बचतकर्ता धनीराम नछुङले बताए।

चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नारा जुलुससहित दिक्तेलबजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर