दिनदिनै दर्शक बढाउँदैछ ‘के लत बस्यो’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई आइतबारसम्ममा ३१ लाख ८८ हजार बढी पटक हेरिएको हो।

एक लाख १८ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो। राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा श्राेता/दर्शकको मन जित्न सफल भएका हुन्।

गायक पेलाकै संगीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन्। गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन्। शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ।

संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन्। खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ।

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने श्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ। डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ। न कुनै कथानक, न कोही पात्र। गीतको म्युजिक भिडियो पनि सामान्य छ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा. मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ। लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ। मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ। बैतडीमा जन्मेका पेला आफैंमा संगीतका गुरुसमेत हुन्।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन्। गायक पेलाले वि.सं. २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *