नक्कली मदिरा उत्पादन गरेर सस्तो भाउमा बिक्री, तीन जना पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामद गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टीकाथलीको विभिन्न स्थानहरूमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने कारखानाबाट मदिरा बरामद गरेको हो।

प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न विदेशी ब्राण्डको नक्कली मदिरा बनाउन कारखानामा संग्लन ३ जनालाई पक्राउसमेत गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खाली बोतल, राजस्व अन्तःशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको बताए।

उनले नक्कली गोल्डेन ओक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको बताए। उनले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरू पनि बरामद गरेको जानकारी दिए। उनले कारखाना खोल्ने र मदिरा बनाउन संग्लनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको बताए।

उनले मदिरा बनाउन संग्लन दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगरलाई पक्राउ गरिएको बताए। उनले थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको बताए।

डा. केसीले नक्कली मदिरालाई स्टोरहरूमार्फत प्रचलित दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको बताए। उनले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन उक्त नक्कली मदिराहरू बनाउनेहरूलाई कालोबजारी ऐनअनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर