हिरासत कक्ष फोडेर धनुषा प्रहरीका ६ जना थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट विभिन्न मुद्दाका ६ जना आरोपी थुनुवा फरार भएका छन् ।

उनीहरुले आइतबार राती हिरासत कक्षको पर्खाल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । भाग्नेहरूमा दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका थुनुवा हुन् ।

फरार हुनेहरुमा विनोदकुमार शर्मा,अमित मण्डल, रोशन यादव , हरिवित सिंह, रोशन महतो र शंकर सिंह रहेका छन् ।

डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् । फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए ।

इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । तर, त्यती चाक्लो पर्खालमा सेध बनाउँदासम्म कार्यालयमा रहेका डीउटी अधिकृत र जवानहरुले किन थाह पाएनन्? र सेध बनाउन औजार कहाँबाट हिरासत कक्षमा आयो? भन्ने विषयमा प्रहरीले कुनै जवाफ दिन सकेको छैन् ।

‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेछन्’, डीएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *