समर्थन फिर्ता लिने रास्वपाकाे चेतावनीपछि सत्ता गठबन्धनमा तरंग

नागरिकता पुनः प्राप्तिपछि फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा नियुक्त भइसकेका रवि लामिछानेले आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेका छन्। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री, सांसद र पार्टी सभापति पद गुमाएका लामिछानेले नागरिकता लिएसँगै पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका हुन्। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत उनले दिएका छन्। यसले सत्ता साझेदार दलभित्र तरंग उत्पन्न गरेकाे छ।

गृह मन्त्रालय पुनः आफ्नो पार्टीलाई नदिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको चेतवानीपछि सत्तारूढ दलमा दौडधुप सुरु भएको छ। बुधबार बिहान प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग आफ्नो सरकारी निवास बालुवाटारमा छलफल गरेका छन्।

रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने बताएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले भने मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा  लामिछानेको मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री नियुक्त नगर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्ड सकभर रास्वपालाई गृह मन्त्रालय नदिने सोचमा छन्। उनी आफ्नै पार्टीका नेतालाई गृहमन्त्री बनाउन खाेजिरहेका छन् र पार्टीभित्रबाट पनि त्यो दबाब उनलाई परिरहेको छ। तर, गृह मन्त्रालय नपाए समर्थन फिर्ता लिने रास्वपाको चेतवानीपछि भने उनी अफ्ठ्यारोमा परेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर