छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारबाट

छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारबाट हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने जनाकारी दिएको हो ।

प्रतियोगितामा साविकको विजेता नेपाल एपिएफ क्लवसँगै, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीले सहभागिता जनाउँदै छन् । सहभागी टोलीलाई आयोजकले दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गर्ने जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने तियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेतालाई एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कार राशि अघिल्लो संस्करणको भन्द बढी हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जानकारी दियो । यस्तै व्याक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिष्ठानले प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गर्ने भएको छ । महिला भलिबलमा खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ देखि हरेक वर्ष राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर