व्यवसायीहरूलाई कस्ने नीति नलिन बैंकहरूसँग गभर्नर अधिकारीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन्। बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अफ्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन्।

उनले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको बताए। उनले कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गरे।

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए। उनले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताए।

उनले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताए। गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताए। तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गरे।

उनले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताए। गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको पनि उल्लेख गरे।

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याए।  उनले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताए। उनले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर जानुपर्ने देखिएको बताए।

गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताए। उनले अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केहीकेही अस्थायी औजार हटाइसकिएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *