अयोध्यामा विधिपूर्वक हस्तान्तरण गरियो कालीगण्डकीको देवशिला (तस्बिरहरू)

भारत उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी लगिएको देवशिला हस्तान्तरण गरिएको छ।

राम मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहका बीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो।

नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भूज  देवशिला हस्तान्तरण गरेका हुन्।

महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गरेका थिए।

देवशिला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताए। उनले यो पुनित कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए।

जानकी मन्दिरका महन्थ दासले युगौंदेखि चलिआएको नेपाल-भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवं नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गरे। भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उनको भनाइ थियो।

राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट देवशिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताए।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले राम जन्मभूमिमै आएर देवशिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यस कार्यलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गरे।

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको देवशिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकामा बुधबार अयोध्या पुगेको थियो।

देवशिलालाई राम मन्दिरको गर्भभागमा राखी रामको बालस्वरूप बनाइने छ। आगामी जनवरी २०२४ मा मन्दिर निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले जानकारी दिएका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

 

          

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर